काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा फेला परेका बेवारिसे शव र मानव अंगको पहिचान गर्न नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।
गत भदौ १० गते आएको बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा पहिचान खुल्न नसकेका शव तथा शरीरका विभिन्न अंग फेला परिरहेका छन्। ती शवको वैज्ञानिक विधिबाट पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउन प्रहरीले बेपत्ता व्यक्तिका नजिकका आफन्तबाट डीएनए नमुना संकलन गर्न लागेको हो।
प्रहरीले सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका बेपत्ता नेपाली तथा विदेशी नागरिकका पहिलो पुस्ताका नातेदारलाई डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
स्वदेशमा रहेका आफन्तले कहाँ सम्पर्क गर्ने ?
नेपालमा रहेका बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले दुई प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित भएर डीएनए परीक्षणका लागि नमुना दिनुपर्ने प्रहरीले जनाएको छ।
डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना आवश्यक पर्नेछ। नमुना दिन इच्छुक आफन्तले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
विदेशमा रहेका आफन्तले कसरी नमुना दिने ?
विदेशमा रहेका गैरआवासीय नेपाली तथा विदेशी नागरिकका परिवारका हकमा सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्ने प्रहरीले जनाएको छ।
प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलको डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। इमेलमा निम्न विवरण खुलाउनुपर्ने प्रहरीले जनाएको छः
–डीएनए नमुना दिने व्यक्तिको पूरा नाम र राष्ट्रियता
–राहदानी वा आधिकारिक परिचयपत्रको विवरण
–बेपत्ता भएको मिति र सम्भावित स्थान
–मान्यताप्राप्त प्रयोगशालाको डीएनए प्रोफाइलिङ रिपोर्ट
–डीएनए दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको पारिवारिक नाता
डीएनए परीक्षण तथा समन्वयका लागि नेपाल प्रहरीले प्रहरी निरीक्षक शम्भुबहादुर केसी र प्रहरी नायव निरीक्षक ९सई० विष्णु घिमिरेलाई सम्पर्क अधिकारी तोकेको छ।
सम्पर्कः
प्रहरी निरीक्षक शम्भुबहादुर केसीः ९८४१६१६०९५
प्रहरी नायव निरीक्षक विष्णु घिमिरेः ९८५७०९१०१३
बाढीमा ठूलो संख्यामा नागरिक बेपत्ता हुनुका साथै कतिपय शव क्षतविक्षत अवस्थामा फेला परिरहेकाले परम्परागत पहिचान सम्भव नभएका अवस्थामा डीएनए परीक्षणमार्फत वैज्ञानिक रूपमा पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।