काठमाण्डौ । रसुवाको जिरोङ–रसुवा सीमा क्षेत्रमा गएको विनाशकारी पहिरोपछि चीनले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वचेतावनी तथा मौसमजन्य विपद्को प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको जनाएको छ।
चिनियाँ मौसम विज्ञान प्रशासनका प्रवक्ताले पत्रकार सम्मेलनमा बोल्दै विपद्पछि नेपाललाई निरन्तर मौसमसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराइरहेको जानकारी दिएका हुन्।
प्रवक्ताका अनुसार विपद् घटेलगत्तै चीनको मौसम विज्ञान प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो। त्यसयता नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुग्ने गरी मौसमसम्बन्धी आवश्यक सूचना र प्राविधिक सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको चीनको भनाइ छ।
चिनियाँ पक्षले मौसमको अवस्था अनुगमन तथा पूर्वानुमानमार्फत सम्भावित जोखिमबारे समयमै जानकारी उपलब्ध गराउने र विपद् व्यवस्थापन तथा उद्धार कार्यमा आवश्यक मौसमसम्बन्धी सहयोग निरन्तर गर्ने जनाएको छ।
नेपाल–चीन सीमा क्षेत्रमा भएको प्राकृतिक विपद्को अवस्थालाई ध्यानमा राख्दै मौसमसम्बन्धी सूचना आदानप्रदान र प्राविधिक सहकार्यले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।