काठमाण्डौ । थाइल्यान्डका एक व्यवसायीले सांसारिक जीवन त्यागेर वनमा बसेर ध्यान तथा आध्यात्मिक साधना गर्ने उद्देश्यले आफ्नो आइसक्रिम कम्पनी बिक्रीमा राखेका छन्।
थाइल्यान्डको चर्चित आइसक्रिम ब्रान्ड ‘हावेल्स’का मालिक सिरिपोङ अक्कारस्रियुकले कम्पनी बिक्रीका लागि १६ करोड ५० लाख थाई भाट मूल्य तोकेका छन्। उनले गत महिना फेसबुकमार्फत कम्पनी बिक्रीमा राखेको घोषणा गरेका हुन्।
सिरिपोङले लामो समयदेखि अरहन्त बन्ने इच्छा राख्दै आएको र कम्पनी बिक्री गर्ने निर्णय त्यस दिशातर्फ अघि बढेको महत्वपूर्ण कदम भएको बताएका छन्।
उनका अनुसार आगामी दुई वर्षभित्र भिक्षु बन्ने लक्ष्यसहित उनले व्यवसायबाट अलग हुने निर्णय गरेका हुन्। त्यस अवधिमा जग्गा खरिद गरी आफूले ध्यान र साधना गर्न सक्ने स्थान निर्माण गर्ने उनको योजना छ।
भिक्षु बनेपछि सांसारिक सम्बन्धबाट पूर्ण रूपमा अलग हुने र पत्नी तथा छोरीसँग समेत सम्पर्क विच्छेद गर्ने योजना रहेको सिरिपोङले बताएका छन्। उनले आफ्नो जीवनको अन्तिम लक्ष्य अरहन्तत्व अर्थात् निर्वाण प्राप्त गर्नु रहेको उल्लेख गरेका छन्।
‘मेरो परिवार र मसँग अब दुई वर्ष मात्र बाँकी छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सिरिपोङका अनुसार वनमा बसेर आफ्नो सम्पूर्ण जीवन आध्यात्मिक साधनामा समर्पित गर्ने उनको योजना छ। अरहन्तत्व प्राप्त गर्न सफल भएमा मात्र सांसारिक समाजमा फर्किएर पत्नी, छोरी, आफन्त तथा शिष्यलाई धर्म अभ्यासका विषयमा मार्गदर्शन गर्ने उनले बताएका छन्।
उनले आफ्नो यो निर्णय १५ वर्षदेखि तयारीमा रहेको समेत बताएका छन्। उनका लागि भिक्षु जीवन भनेको सांसारिक जीवनबाट अलग भएर प्रत्येक व्यक्तिले आफ्नो आध्यात्मिक मार्गमा अघि बढ्ने अवस्था हो।
सिरिपोङले सन् १९९९ मा हावेल्स आइसक्रिम ब्रान्ड सुरु गरेका थिए। कुनै समय थाइल्यान्डमा सर्वसाधारणबीच परिचित रहेको यो ब्रान्ड पछिल्लो समय विस्तारमा समस्या भोगिरहेको उनले बताएका छन्।
उनका अनुसार सपिङ मलहरूमा व्यवसाय विस्तार गर्न खोज्दा खाली स्थान हुँदासमेत हावेल्सका लागि ठाउँ उपलब्ध नभएको जवाफ आउने गरेको थियो। व्यवसाय विस्तारमा देखिएको कठिनाइ पनि कम्पनी बिक्री गर्ने निर्णयका कारणमध्ये एक रहेको उनले बताएका छन्।
बैंकक पोस्टका अनुसार सिरिपोङले आफ्नो कम्पनी बिक्रीबाट १६ करोड ५० लाख थाई भाट प्राप्त गर्ने अपेक्षा गरेका छन्।
कम्पनी बिक्रीपछि आगामी दुई वर्ष आफ्नो बाँकी तयारी पूरा गरी वनमा बसेर ध्यान तथा साधनामा जीवन समर्पित गर्ने उनको योजना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।