काठमाण्डौ । बीमा कम्पनीहरुले कुल लगानीको ७७.४२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने गरेका छन् । नेपाल बीमा प्राधिकरणले विभिन्न क्षेत्रको अध्ययन गरी बीमकहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिदैं आइरहेको छ ।
तर जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल लगानीको आधा भन्दा बढी रकम मुद्दती निक्षेपमा राख्दै आएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले ५ खर्ब ३० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् ।
प्राधिकरणका अनुसार पछिल्लो समय केही कम्पनीहरुले लगानी विविधिकरण गर्न घरजग्गा कारोबारको क्षेत्रमा समेत लगानी गर्न अनुमति माग्न थालेका छन् । तर दोस्रो त्रैमाससम्म २–३ वटा कम्पनीले मात्रै यस्तो क्षेत्रमा लगानी गरेका छन् ।
बैंकहरुको मुद्दती निक्षेपमा रकम राख्दा लगानी नडुब्ने आशयले बीमकहरु फिक्स्ड डिपोजिटमा लगानी गर्न होम्मिएका छन् । तर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर घट्दै जाँदा बीमा कम्पनीहरुले निक्षेपमा लगानी कम गर्न र अन्य क्षेत्रमा लगानी बढाउन तयार देखिन्छन् ।
नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रविण रमण पराजुलीले पनि कम्पनीले घरजग्गा कारोबारमा लगानी गर्न प्रक्रिया अघि बढाइसकेको बताएका छन् । साथै बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले पनि घरजग्गा कारोबार लगायत अन्य क्षेत्रमा लगानी गर्न प्राधिकरणसमक्ष अनुमति माग्न थालेको बताएका छन् ।
अन्य क्षेत्रमा लगानी गर्दा बढी जोखिम हुन सक्ने र प्रतिफल पनि पाउने ग्यारेन्टी नहुँदा मुद्दती निक्षेपको लगानीमा बढी केन्द्रीत हुने परेको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।
‘मुद्दती निक्षेपमा लगानी गर्दा बैंकहरुबाट ब्याज आउने निश्चित हुन्छ, तर त्यही रकम जस्तै सेयरबजारमा लगानी गर्ने हो भने बजार घट्दा लगानी डुब्न सक्ने अवस्था आउँछ’ एक कम्पनीका सीईओले भने, ‘प्राधिकरणले लगानीको लागि सहज बनाएपनि बीमा कम्पनीहरु सेवामुखीसँगै नाफामुखी पनि बन्नुपर्छ तर अन्य क्षेत्रमा लगानी गर्दा बीमा कम्पनीको प्रोफिट राम्रो नहुन सक्छ ।’
बीमा कम्पनीहरुले कुल लगानीको आधा भन्दा बढी रकम मुद्दती निक्षेपमै लगानी गरेपछि प्राधिकरणले मुद्दती निक्षेपमा लगानीको एयरमार्क सम्बन्धी सिद्दान्त समेत लागू गरेको छ ।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा लगानी गर्नका लागि विभिन्न सिद्दान्त पालना गर्नुपर्ने हुन्छ । बीमकहरुले नेपाल बीमा प्राधिकरणद्वारा प्रचलित लगानी निर्देशनद्वारा तोकिएको सीमाभित्र रहेर कन्सन्ट्रेसन रिस्क कम गर्नका लागि मुद्दती निक्षेपहरुमा आफ्नो लगानी विविधिकरण गर्नुपर्नेछ ।
यसका साथै बीमकहरुले बीमितको दायित्व पूरा गर्न र सञ्चालन खर्चहरु पुरा गर्न तरलता व्यवस्थापन रणनीति अपनाई पर्याप्त तरलता कायम गर्नुपर्नेछ । साथै आफ्नो मुद्दती निक्षेप लगानीको नियमित जोखिम मूल्यांकन गरी उक्त जोखिमहरुको न्यूनीकरण गर्न पर्याप्त व्यवस्थापनका उपायहरु अवलम्बन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
बीमा कम्पनीहरुको मुद्दती निक्षेपमा भएका लगानीहरु नेपाल बीमा प्राधिकरणबाट जारी भएको प्रचलित लगानी निर्देशिकाद्वारा तोकिएको सीमाभित्र हुनुपर्नेछ । प्राधिकरणको निर्देशनबमोजिम बीमा कम्पनीले क र ख वर्गको बैंकको मुद्दती निक्षेपमा १० प्रतिशत र ग वर्गको वित्तीय संस्थामा ५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।
त्यस्तै, बीमा कम्पनीले आफ्नो वित्तीय विवरणहरुमा आफ्नो मुद्दती निक्षेप लगानीहरु उल्लेख गर्दा पारदर्शिता कायम गर्नुपर्नेछ र लगानी निर्देशन तथा वित्तीय विवरणसम्बन्धी निर्देशनद्वारा निर्देशन भए बमोजिम प्राधिकरणलाई नियमित रुपमा जानकारी उपलब्ध गराउनुपर्नेछ । यसका साथै मुद्दती निक्षेपमा भएको लगानी बीमकको सम्पत्ति दायित्व व्यवस्थापन (एएलएम)नीति र रणनीतिसँग मेल हुनुपर्नेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                