काठमाण्डौ । उत्कृष्ट स्पिन बलिङको मद्दतमा नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालको जितमा स्पिन बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै ओमानको ब्याटिङ लाइनअप ध्वस्त पारे।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल भने ४५.४ ओभरमा १४७ रनमा समेटिएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बासिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए।
नेपाल ३६ रनमा चार विकेट गुमाएर संकटमा परेको अवस्थामा दीपेन्द्र र बासिरले पाँचौँ विकेटका लागि ९३ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। उनीहरूको साझेदारीपछि नेपाल १२९–५ को अवस्थामा पुगे पनि त्यसपछि लगातार विकेट गुमाउँदै १४७ रनमा अलआउट भएको थियो।
नेपालका देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानका लागि जे ओडेड्राले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए। हसनैन शाहले ८.४ ओभरमा २८ रन दिएर तीन विकेट हात पारे। मोहम्मद इमरानले दुई तथा शकिल अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपाली स्पिनरहरूले सुरुदेखि नै दबाबमा राखेका थिए। फलस्वरूप ओमानको टोली ६० रनमै समेटिएपछि नेपालले ८७ रनको फराकिलो जित दर्ता गर्यो।
अब नेपालले शनिबार हुने फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ। यसैगरी, सेमिफाइनल जितसँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि आफ्नो स्थान सुरक्षित गरिसकेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।