Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 06:27:13
Bizshala
Global IME Bank Limited

प्राप्ति सम्झौतापछि सिन्धुमा ३९ प्रतिशतको पहिरो, मुक्तिनाथको बजार पूँजीकरण साढे २ अर्ब घट्यो

प्राप्ति सम्झौतापछि सिन्धुमा ३९ प्रतिशतको पहिरो, मुक्तिनाथको बजार पूँजीकरण साढे २ अर्ब घट्यो
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले कमजोर वित्तीय अवस्थाका सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने निर्णयको धक्का सेयर बजारमा लगातार देखिएको छ।

प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भएपछि सिन्धु विकास बैंकको सेयरमूल्य लगातार तेस्रो कारोबार दिनसमेत नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार सिन्धुको सेयरमूल्य १४.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३५९ रुपैयाँ ७० पैसामा सीमित भएको छ।

सिन्धुको सेयरमूल्य भदौ २१ गते १५ प्रतिशत, भदौ २३ गते १४.९९ प्रतिशत र भदौ २५ गते १४.९८ प्रतिशतले घटेको हो। यसरी तीन दिनको गिरावटलाई साधारण रूपमा जोड्दा करिब ४५ प्रतिशत देखिए पनि चक्रवृद्धि प्रभावका आधारमा लगानीकर्ताले अघिल्लो मूल्यबाट करिब ३८.५६ प्रतिशत गुमाएका छन्।

प्राप्तिको सम्झौता सार्वजनिक हुनुअघिको अन्तिम कारोबार दिन सिन्धुको सेयरमूल्य प्रतिकित्ता ५८५ रुपैयाँ ५० पैसा थियो। त्यसयताका तीन कारोबार दिनमा मूल्य २२५ रुपैयाँ ८० पैसाले घटेर ३५९ रुपैयाँ ७० पैसामा झरेको छ।

बिहीबार सिन्धुको प्रतिकित्ता मूल्य ४०२ रुपैयाँमा खुलेको थियो। कारोबार अवधिभर मूल्य बढ्न सकेन र १४.९८ प्रतिशतको गिरावटसहित दिनकै न्यून मूल्य ३५९ रुपैयाँ ७० पैसामा बन्द भयो। यस दिन कम्पनीको १२ हजार ७५३ कित्ता सेयर ४५ लाख ८८ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

तीन दिनमै सिन्धुका लगानीकर्ताको ठूलो क्षति

सिन्धु विकास बैंकका कुल ५५ लाख ७४ हजार ५६१ कित्ता सेयर सूचीकृत छन्। कम्पनीको कुल सूचीकृत सेयरलाई आधार मान्दा तीन कारोबार दिनमा बजार पुँजीकरण करिब १ अर्ब २५ करोड ८८ लाख रुपैयाँले घटेको देखिन्छ।

बैंकमा सर्वसाधारणको स्वामित्वमा २७ लाख ३२ हजार १४४ कित्ता अर्थात् ४९ प्रतिशत सेयर छ। सम्झौताअघिको मूल्यसँग तुलना गर्दा सर्वसाधारण लगानीकर्ताको सेयर सम्पत्तिको बजार मूल्य मात्रै करिब ६१ करोड ७० लाख रुपैयाँले खुम्चिएको देखिन्छ।

यसले मुक्तिनाथसँगको प्राप्तिलाई सिन्धुका लगानीकर्ताले सकारात्मक रूपमा नलिएको प्रस्ट सङ्केत गरेको छ। प्राप्तिपछि कायम हुने स्वाप अनुपातप्रतिको अन्योल र सिन्धुको पछिल्लो बजार मूल्यको तुलनामा कम मूल्यांकन हुन सक्ने डरले बिक्री चाप तीव्र बनेको हो।

लगातार तीन दिनसम्म मूल्य करिब १५ प्रतिशतले घट्दा पनि पर्याप्त खरिदकर्ता नदेखिनुले सिन्धुका सेयरधनीमा प्राप्तिपछि आफूले पाउने मुक्तिनाथको सेयर संख्या अपेक्षाभन्दा निकै कम हुन सक्ने त्रास रहेको देखाउँछ।

जानकीमा तीन दिनको पहिरोपछि सामान्य सुधार

अर्को प्राप्ति साझेदार जानकी फाइनान्सको सेयरमूल्यमा भने बिहीबार सामान्य सुधार आएको छ। दुई कारोबार दिन लगातार १४.९९ प्रतिशतले घटेको जानकीको मूल्य बिहीबार ४.२८ प्रतिशत अर्थात् ११ रुपैयाँ ४० पैसाले बढेर प्रतिकित्ता २७८ रुपैयाँ पुगेको छ।

बिहीबार जानकीको सेयरमूल्य २६० रुपैयाँमा खुलेर अधिकतम २८५ रुपैयाँ ३० पैसासम्म पुगेको थियो। कम्पनीको ४६ हजार ८ कित्ता सेयर १ करोड २१ लाख ३५ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

तर, बिहीबारको सामान्य सुधारका बाबजुद प्राप्तिको सम्झौतापछि जानकीका लगानीकर्ताले बेहोरेको क्षति अझै ठूलो छ। सम्झौताअघिको अन्तिम कारोबार दिन प्रतिकित्ता ३६८ रुपैयाँ ९० पैसा रहेको जानकीको मूल्य अहिले २७८ रुपैयाँमा सीमित छ। यस अवधिमा कम्पनीको सेयरमूल्य ९० रुपैयाँ ९० पैसा अर्थात् करिब २४.६४ प्रतिशतले घटिसकेको छ।

यसअघि भदौ २१ गते जानकीको सेयरमूल्य १४.९९ प्रतिशतले घटेर ३१३ रुपैयाँ ६० पैसा र भदौ २३ गते पुनः १४.९९ प्रतिशतले घटेर २६६ रुपैयाँ ६० पैसामा झरेको थियो।

‘उद्धार’को मूल्य मुक्तिनाथका सेयरधनीले पनि तिर्दै

प्राप्तिको निर्णयबाट सिन्धु र जानकीका सेयरधनी मात्रै होइन, प्राप्तिकर्ता मुक्तिनाथ विकास बैंकका लगानीकर्तासमेत उत्साहित देखिएका छैनन्। बजारले कमजोर वित्तीय स्वास्थ्य भएका दुई संस्थालाई एकसाथ भित्र्याउने मुक्तिनाथको निर्णयमाथि तत्काल विश्वास गर्न नसकेको सेयरमूल्यको उतारचढावले देखाएको छ।

सम्झौताअघिको अन्तिम कारोबार दिन भदौ १७ गते मुक्तिनाथको सेयरमूल्य प्रतिकित्ता ३५६ रुपैयाँ ९० पैसा थियो। त्यसपछि भदौ २१ गते मूल्य ३.०५ प्रतिशतले घटेर ३४६ रुपैयाँ तथा भदौ २३ गते थप ७.९८ प्रतिशतले घटेर ३१८ रुपैयाँ ४० पैसामा झर्‍यो।

बिहीबार भने मुक्तिनाथको मूल्य २.२६ प्रतिशतले सुधारिएर ३२५ रुपैयाँ ६० पैसा पुगेको छ। यस दिन बैंकको ९५ हजार ३२४ कित्ता सेयर ३ करोड ९ लाख १९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

एक दिनको सुधारका बाबजुद सम्झौताअघिको तुलनामा मुक्तिनाथको सेयरमूल्य प्रतिकित्ता ३१ रुपैयाँ ३० पैसाले अर्थात् करिब ८.७७ प्रतिशत घटिसकेको छ।

मुक्तिनाथ विकास बैंकका ८ करोड ३ लाख ८९० कित्ता सेयर सूचीकृत छन्। सम्झौताअघिको मूल्यसँग तुलना गर्दा बैंकको बजार पुँजीकरण करिब २ अर्ब ५० करोड रुपैयाँले घटेको देखिन्छ।

बैंकमा सर्वसाधारणको स्वामित्वमा ३ करोड ९२ लाख १ हजार ९०६ कित्ता अर्थात् ४९ प्रतिशत सेयर छ। मूल्यमा आएको गिरावटका आधारमा सर्वसाधारणतर्फको सेयर सम्पत्तिको बजार मूल्य करिब १ अर्ब २२ करोड ७० लाख रुपैयाँले घटेको छ।

यसले जानकी र सिन्धुलाई ‘उद्धार’ गर्ने निर्णयको सम्भावित मूल्य मुक्तिनाथका विद्यमान सेयरधनीले समेत तिर्न थालेको देखाउँछ।

बजारले किन पत्याएन प्राप्ति सम्झौता ?

मुक्तिनाथ विकास बैंक तुलनात्मक रूपमा राम्रो वित्तीय अवस्था, नियमित लाभांश र संस्थागत सुशासनका कारण लगानीकर्ताको रोजाइमा रहँदै आएको संस्था हो। तर, उच्च खराब कर्जा र कमजोर वित्तीय सूचक भएका दुई संस्थालाई एकैपटक प्राप्ति गर्दा तिनको जोखिम मुक्तिनाथको वासलातमा सर्ने चिन्ता लगानीकर्तामा देखिएको छ।

प्राप्तिपछि जानकी र सिन्धुको खराब कर्जा व्यवस्थापन गर्नुपर्ने, सम्भावित कर्जा नोक्सानीबापत थप रकम छुट्याउनुपर्ने तथा पूँजी र नाफामा दबाब पर्न सक्ने जोखिम छन्। यस्तै, कर्मचारी व्यवस्थापन, शाखा समायोजन र खराब कर्जा असुलीमा लाग्ने समय तथा लागतले मुक्तिनाथको भावी लाभांश क्षमतामा प्रभाव पार्न सक्ने लगानीकर्ताको आकलन देखिन्छ।

यद्यपि, प्राप्तिको अन्तिम स्वाप अनुपात ड्यु डिलिजेन्स अडिट (डीडीए) पछि मात्रै निश्चित हुनेछ। कमजोर संस्थाहरू अत्यन्त न्यून स्वाप अनुपातमा प्राप्त गर्न सकिए र खराब कर्जा असुली प्रभावकारी भयो भने दीर्घकालमा मुक्तिनाथले शाखा सञ्जाल, व्यवसाय र भौगोलिक पहुँच विस्तारको लाभ लिन सक्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.