काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म आवास भाडा तथा आवश्यक खर्च व्यवस्थापनका लागि सरकारले मासिक नगद सहायता उपलब्ध गराउने भएको छ।
सरकारले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य रहेको परिवारका हकमा थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराइनेछ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिँदै मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताएका हुन्।
उनका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थायी आवास निर्माण सम्पन्न नभएसम्म बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ।’
सरकारले प्रभावित परिवारलाई नगद सहायता लिनैपर्ने बाध्यता नराखी वैकल्पिक व्यवस्था पनि गरेको छ।
मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकारले नै स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प उपलब्ध गराएको मन्त्री तिमिल्सिनाले बताएका छन्।
यसका लागि आवश्यक विवरण तथा तथ्यांक संकलन गर्न सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको उनले जानकारी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।