काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा सरकारका विपद् तथा राहतसम्बन्धी कोषमा १५ अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँ खातामा हाल ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ रुपैयाँ मौज्दात छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
नेपाली रुपैयाँ र डलर खातामा रहेको रकमसमेत समेट्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।
सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रकमबाट १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो क्षति भएपछि पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट आर्थिक सहयोग जुटाउने क्रम जारी छ। सरकारले उपलब्ध कोषबाट प्रभावित परिवारको तत्कालीन राहत तथा आवश्यकताअनुसार पुनःस्थापनामा रकम परिचालन गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।