काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा भदौ १० गते आएको विनाशकारी बाढीले व्यापक मानवीय तथा भौतिक क्षति पुर्याएको छ।
नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिरुपानीमा निर्माणाधीन आयोजनामा कार्यरत कम्पनी, परामर्शदाता तथा निर्माण व्यवसायीका कर्मचारी, कामदार र उनीहरूका केही परिवार सदस्य गरी कुल १८५ जना सम्पर्कविहीन भएकोमा हालसम्म ६ जनाको शव मात्रै फेला परेको कम्पनीले जनाएको छ। बाँकी १७९ जनाको अवस्था अझै अज्ञात छ।
तिब्बतबाट भोटेकोशी हुँदै आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्याएपछि भदौ १० गतेदेखि नै खोज तथा उद्धारको पहल सुरु गरिएको थियो। भदौ १४ गतेदेखि आयोजनास्थलमा उत्खनन कार्य सुरु भएको र हाल उक्त काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
हालसम्म आयोजनाको कार्यालय भवन ‘ओ’ तथा आवासीय भवन बी–१, बी–२, ए–१, ए–२ र ‘डी’ क्षेत्रको उत्खनन सम्पन्न भएको छ। तर उत्खननका क्रममा कार्यालय तथा आवासीय भवनको संरचना नै फेला नपरेको कम्पनीले जनाएको छ।
उत्खनन स्थलमा केही फलामका टुक्रा, बाहिरबाट बगाएर ल्याइएका ठूला ढुंगा तथा क्षतविक्षत अवस्थामा रहेका कंक्रिटका अवशेष मात्रै भेटिएका छन्।
सवारीदेखि पावरहाउससम्म बगायो बाढीले
बाढीले आयोजनास्थलमा रहेका सवारीसाधन तथा अन्य उपकरणसमेत बगाएर लगेको छ।
कम्पनीका अनुसार आयोजनाको हेडपोण्ड, एप्रोच प्रेसर कन्ड्युट र पावरहाउस क्षेत्रमा रहेका संरचना तथा उपकरणसमेत बाढीले बगाएको छ। ती क्षेत्रमा अहिले ठूला–ठूला ढुंगा थुप्रिएको अवस्था छ।
आयोजनाको टनेलमा भने आंशिक क्षति पुगेको कम्पनीले जनाएको छ।
नेपाली सेना तथा कम्पनीको टोलीले आयोजनास्थलमा खोज तथा उद्धारका लागि उत्खननसहितका काम जारी राखेको छ।
को–को छन् सम्पर्कविहीन ?
कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा त्रिशूली जलविद्युत कम्पनीका २१ जना करार कर्मचारी र उनीहरूका ६ जना परिवार सदस्य, परामर्शदाताका १८ जना, ठेकेदार कम्पनी एचएनएसी–जियाङ्हे जेभीका ७ जना तथा फेवा कन्स्ट्रक्सन लिमिटेडका १३३ जना रहेका छन्।
यसरी कुल १८५ जना सम्पर्कविहीन भएकामा हालसम्म ६ जनाको शव फेला परेको र बाँकी १७९ जनामध्ये अधिकांश कर्मचारी तथा कामदारको अवस्था पत्ता लाग्न नसकेको कम्पनीले जनाएको छ।
आयोजनाको बीमा भने चालु अवस्थामा
कम्पनीले निर्माणाधीन आयोजनाका लागि गरिएको Contractor’s All Risk (CAR) बीमा, Erection All Risk (EAR) बीमा, सवारीसाधन बीमा, भवन बीमा तथा कर्मचारीको सामूहिक दुर्घटना बीमा भने चालु अवस्थामा रहेको जनाएको छ।
बाढीबाट आयोजनामा भएको वास्तविक भौतिक क्षतिको पूर्ण विवरण उत्खनन तथा प्राविधिक अध्ययनपछि मात्रै स्पष्ट हुने देखिएको छ।
भोटेकोशीको बाढीले माथिल्लो त्रिशूली–३ बी आयोजनामा पुर्याएको मानवीय क्षति र संरचनागत विनाशको परिमाण भने पछिल्लो विवरणसँगै झनै गम्भीर देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।