काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागले असोज ८ गतेदेखि ‘सिरिज २०२५’ को नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो। नोटको रंग र साबिकको आकारमा भने परिवर्तन गरिएको छैन।
नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानीछाप छ। दृष्टिविहीन व्यक्तिले छामेर दर पहिचान गर्न सकून् भनेर नोटमा ‘M’ आकारको स्पर्शयोग्य चिह्न राखिएको छ। नोटको सुरक्षण धागोमा ‘NRB’ र ‘1000’ अंकित छ भने बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ।
नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा रहेका राम र लक्ष्मण नामका दुई हात्तीको चित्र राखिएको छ। राष्ट्र बैंकका अनुसार ती हात्ती नेपाल सरकारको स्वामित्वमा रहेका देवकली नामकी हात्तीबाट जन्मिएका हुन्। पछाडिको भागमै नेपालका सात प्रदेश जनाउने सात लालिगुराँसको चित्र, ‘NEPAL RASTRA BANK’ र ‘RUPEES ONE THOUSAND’ लेखिएको छ।
यसअघि राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि ‘सिरिज २०१९’ को हजार रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको थियो। नयाँ सिरिजको वितरण सुरु भएसँगै पुराना नोट तत्काल चलनचल्तीबाट हट्ने भन्ने अर्थ लाग्दैन; राष्ट्र बैंकको सूचनाले नयाँ नोट चलनचल्तीमा ल्याइएको जानकारी मात्र दिएको छ।
राष्ट्र बैंकले नोटलाई राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

भिडियो स्रोत : NRB


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।