काठमाण्डौ । अध्यागमन विभागले श्रम अनुमति नलिई नेपालमा काम गरिरहेका ८८ जना चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।
सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित जयमान फुड्स प्रालिमा कार्यरत ती चिनियाँ नागरिकले श्रम अनुमति नलिई काम गरेको र भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि विभागले उनीहरूको भिसा रद्द गरेको हो।
उक्त उद्योग छेन्दु तियान फुड्स लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको छ। उद्योगले भैंसीको मासु प्रशोधन गरी चीन निर्यात गर्ने उद्देश्य राखेको छ।
अध्यागमन विभागका अनुसार ८८ जना चिनियाँ नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर जयमान फुड्समा काम गरिरहेको पाइएको थियो।
विभागका प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि उनीहरूको व्यावसायिक भिसा रद्द गरिएको उल्लेख छ।
विभागले उनीहरूमाथि अध्यागमन ऐन, २०४९ अनुसार जरिवाना गर्ने तथा निष्कासनको प्रक्रिया अघि बढाएको जनाएको छ।
यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृत सम्मिलित संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा चिनियाँ नागरिकहरूले आवश्यक श्रम स्वीकृति नलिएको खुलेपछि सम्बन्धित निकायले थप प्रक्रिया अघि बढाएको हो।
श्रम विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार विदेशी नागरिकले नेपालमा काम गर्न सम्बन्धित मन्त्रालय र गृह मन्त्रालयको सिफारिसका आधारमा श्रम अनुमति लिनुपर्ने व्यवस्था छ।
उनले जयमान फुड्सले ती विदेशी नागरिकका लागि आवश्यक श्रम अनुमति नलिएको बताएका छन्।
भिसा रद्द भएसँगै अब उनीहरूमाथि जरिवाना तथा निष्कासनसम्बन्धी प्रक्रिया अध्यागमन कानुनअनुसार अघि बढ्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।