काठमाण्डौ । लगातारको वर्षाका कारण सम्भावित जोखिम बढेपछि काठमाण्डौ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका छन्।
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बिहीबार राति ८ बजेदेखि यात्रुवाहक बस, मालवाहक सवारी, निजी सवारी तथा मोटरसाइकलसमेत नागढुंगा क्षेत्रमा होल्ड गरिएको हो।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर, कुरिनटारनजिकको धारापानीलगायत क्षेत्रमा पहिरो खस्नुका साथै केही स्थानमा सडक भासिएको छ। प्रभावित क्षेत्रमा पहिरो हटाउने तथा सडक खुलाउने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।
लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा थप पहिरो खस्ने, ढुंगा झर्ने, लेदो बग्ने तथा सडक अवरुद्ध हुने जोखिम देखिएपछि प्रशासनले सवारी आवागमनमा कडाइ गरेको हो।
जिल्ला प्रशासन कार्यालय धादिङ र चितवनले समेत सूचना जारी गर्दै मौसम र सडकको अवस्था सामान्य नबनेसम्म राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन्।
नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखा तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सवारीसाधन नागढुंगामै रोकिँदा यात्रु र चालक प्रभावित भएका छन्।
विशेषगरी लामो दूरीका यात्रुवाहक बस र मालवाहक सवारीसाधन एकैपटक रोकिँदा नागढुंगा क्षेत्रमा सवारी चाप बढेको छ।
सम्बन्धित निकायका अनुसार सडकको अवस्था, पहिरोको जोखिम र मौसमको अवस्था मूल्यांकन गरेपछि मात्र सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइनेछ।
सुरक्षा निकाय र सडकसम्बन्धी निकायबीच समन्वय गरी अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। जोखिम कम भएपछि मात्रै सवारी सञ्चालन सहज बनाइने तयारी छ।
प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र सुरक्षा निकायले जारी गरेका सूचनालाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।