काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशमा पर्यटन सम्भावनालाई बैंकिङ व्यवसाय विस्तारसँग जोड्ने उद्देश्यले “क्यापिटलाइजिङ अन टुरिजमः बजेट अचिभमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी रिभ्यु–गण्डकी प्रदेश (२०८३/८४)” विषयक सेमिनार सम्पन्न गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारी सहभागी थिए।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट, व्यवसाय विस्तार रणनीति, प्राथमिकता तथा केन्द्र र प्रदेशबीचको सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको बैंकले जनाएको छ।
गण्डकी प्रदेशका ८ जिल्लामा बैंकका १५ शाखा सञ्चालनमा छन्। बैंकले यसअघि बागमती, कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत प्रदेशगत व्यवसाय विस्तार तथा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। निक्षेप संकलन ९.२२ प्रतिशत बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६९ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।