काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा शुक्रबार भएको विमान दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा कंगोको सेनाका दुई वरिष्ठ सैन्य अधिकारीसहित प्रतिनिधिमण्डलका सदस्य र चालक दलका व्यक्तिहरूको मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन्।
मृत्यु हुनेमा सैन्य अदालतका प्रमुख लेफ्टिनेन्ट जनरल मुतोम्बो काटालायी तिएन्दे र सशस्त्र बलका महानिरीक्षक लेफ्टिनेन्ट जनरल बाकुमी लिकुलिया समेत रहेका छन्।
कंगोली सेनाका प्रवक्ता मेजर जनरल एफोमी एकेन्जेले विज्ञप्तिमार्फत दुई वरिष्ठ सैन्य अधिकारीसहित प्रतिनिधिमण्डलका १२ सदस्य तथा चालक दलका सदस्यले दुर्घटनामा ज्यान गुमाएको जानकारी दिएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार विमान दक्षिणपश्चिमी कंगोको किक्विटबाट राजधानी किन्शासातर्फ उडेको थियो। उडानका क्रममा प्राविधिक समस्या देखिएपछि विमान केन्जे क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार सबैको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको सैन्य प्रवक्ता एकेन्जेले बताएका छन्।
यसैबीच, नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष ट्राइफोन किन–किए मुलुम्बाले भने दुर्घटनाको कारण अझै स्पष्ट नभएको बताएका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेकाले प्राविधिक समस्या नै दुर्घटनाको कारण थियो वा अन्य कुनै कारण जिम्मेवार थियो भन्नेबारे तत्काल निष्कर्षमा पुग्न नसकिने अधिकारीहरूले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।