काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको नभई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा ल्याइएको दाबी गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई सुरक्षा जोखिम महसुस भएपछि प्रहरी कार्यालयमा ल्याइएको हो।
उनले जबरा अहिले सुरक्षित स्थानमा रहेको बताए। यद्यपि, पूर्वप्रधानन्यायाधीशलाई के कारण सुरक्षा चुनौती देखिएको हो भन्ने विषय प्रहरीले खुलाएको छैन।
जबरामाथि कुनै मुद्दा चलाउने तयारी नरहेको पनि प्रहरीले स्पष्ट पारेको छ। उनलाई आजै छाडिने संकेतसमेत प्रहरीले दिएको छ।
यसअघि प्रहरी उच्च स्रोतले महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो।
प्रहरी टोली गएराति जबरा सुतिरहेका बेला उनको निवासमा पुगेको र उनीसँगै प्रहरी कार्यालय जान आग्रह गरेको बताइएको छ। उनलाई त्यसक्रममा कुनै पक्राउ पुर्जी नदिइएको विवरण सार्वजनिक भएको थियो।
पछि बिहान करिब ३ बजे जबरालाई घरबाट प्रहरी कार्यालय ल्याइएको र त्यसलाई नै पक्राउका रूपमा बुझिएको थियो।
तर प्रहरीले पछिल्लो प्रतिक्रिया दिँदै जबरालाई औपचारिक रूपमा पक्राउ नगरिएको र सुरक्षा प्रयोजनका लागि मात्रै कार्यालयमा ल्याइएको दाबी गरेको छ।
यस घटनासँगै पूर्वप्रधानन्यायाधीश जबरालाई रातारात प्रहरी कार्यालयमा ल्याउनुको वास्तविक कारण के थियो भन्ने प्रश्न भने अझै खुला रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।