काठमाण्डौ । थप पहिरो वा अन्य अवरोध नआए पृथ्वी राजमार्गमा आज बुधबार दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने भएका छन्।
लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि प्रभावित बनेको राजमार्गमा हालसम्म एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ। अवरोध हटाउने काम जारी रहेकाले अवस्था सामान्य रहे अपराह्न १ बजेदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने धादिङ प्रशासनले जनाएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार साँझ जारी गरेको सूचनामा थप पहिरो वा अवरोध नआए बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग हुँदै चल्ने सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने उल्लेख छ।
यसअघि पहिरो, लेदो तथा सडकमा आएको क्षतिका कारण राजमार्गका विभिन्न खण्डमा सवारीसाधन एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदै आएका थिए।
प्रशासनका अनुसार अवरोध हटाउने र सडकलाई सुरक्षित बनाउने काम निरन्तर भइरहेको छ। तर वर्षा रोकिए पनि केही स्थानमा पहिरोको जोखिम अझै कायम रहेकाले चालक, यात्रु तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।