काठमाण्डौ । गल्छी–रसुवागढी सडकअन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्मको खण्डमा सडक ट्र्याक खोल्ने काम तीव्र पार्न पैदल यात्रु आवागमनमा समेत कडाइ गरिएको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हरेक दुई घण्टाको अन्तरमा १५ देखि २० मिनेटका लागि मात्रै पैदल यात्रुलाई आवतजावत गर्न दिइनेछ।
योजनाले ट्र्याक खोल्ने काम भइरहेका बेला यात्रुहरू जुनसुकै समयमा कार्यस्थलबाट आवतजावत गर्दा काममा ढिलाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको जनाएको छ।
त्यसैले निर्माण कार्यलाई तीव्र र सुरक्षित बनाउन पैदल यात्रु आवागमनलाई निश्चित समयमा सीमित गरिएको हो।
सडक योजनाले रातिको समयमा भने उक्त खण्डमा पैदल यात्रा नगर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।
हाल बाढी तथा पहिरोबाट प्रभावित गल्छी–रसुवागढी सडकका विभिन्न खण्डमा पुनः ट्र्याक खोल्ने तथा सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।