काठमाण्डौ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धनका लागि नर्वेजियन सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
बैठकले नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ।
त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ। अर्थ मन्त्रालयले यसअघि वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको छ।
मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ।
बैठकले सहसचिव पदमकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवातर्फ सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।