काठमाण्डौ । खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको र उपभोक्ताले सास्ती खेपिरहेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न नेपाल आयल निगमसँग माग गरेको छ ।
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगहरूले प्रत्यक्ष रूपमा उपभोक्तालाई सिलिन्डर बिक्री गर्ने अभ्यास बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा धेरै सिलिन्डर हुनु नै ग्यास आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना गर्ने मुख्य कारण रहेको दाबी गरेका छन् ।
उनका अनुसार यस्तो अवस्था हुँदाहुँदै पनि विभिन्न ग्यास उद्योगहरूले २ हजार ५०० देखि २ हजार ७०० रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेका छन् । महासंघले यस्तो अभ्यासप्रति आपत्ति जनाउँदै नेपाल आयल निगम र सरकारको भूमिकामाथिसमेत प्रश्न उठाएको छ ।
महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गरेर व्यवस्थापन गर्नुपर्नेमा उल्टै नयाँ आकारका सिलिन्डर बजारमा ल्याउने योजना अघि सारिएको भन्दै असन्तुष्टि जनाएको छ ।
विशेषगरी ५ किलो, १९ किलो, ५० किलो र ४५० किलो क्षमताका नयाँ सिलिन्डर बिक्री गर्ने तयारीलाई महासंघले उपभोक्तामाथि थप आर्थिक भार पार्ने कदमका रूपमा चित्रित गरेको छ ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगस्तरबाट भइरहेको खुद्रा बिक्री रोकी डिलरमार्फत मात्र बिक्री गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको महासंघको भनाइ छ ।
महासंघले ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग परामर्श गरेर सहज आपूर्ति सुनिश्चित गर्न पनि निगमलाई आग्रह गरेको छ ।
त्यस्तै, हाल सर्वसाधारणले प्रयोग गरिरहेको १४.२ किलो क्षमताको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत महासंघले अघि सारेको छ ।
ग्यासको आपूर्ति, सिलिन्डरको संख्या र वितरण प्रणालीबीच समन्वय नहुँदा उपभोक्ताले अनावश्यक समस्या भोग्नुपरेको भन्दै महासंघले तत्काल नीतिगत हस्तक्षेप गर्न नेपाल आयल निगमको ध्यानाकर्षण गराएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।