काठमाडौं। एनभिडियाको समर्थन प्राप्त अस्ट्रेलियाली कृत्रिम बुद्धिमत्ता (एआई) डेटा सेन्टर सञ्चालक कम्पनी फर्मसले बजारको अस्थिरता र प्रतिकूल परिस्थितिको कारण देखाउँदै आफ्नो विशाल प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) योजना फिर्ता लिएको छ।
कम्पनीले सीएनबीसीलाई इमेलमार्फत दिएको वक्तव्यमा प्रस्तावित आईपीओका सर्तले आफ्नो व्यावसायिक सामर्थ्य र दीर्घकालीन वृद्धिको सम्भावनालाई पर्याप्त रूपमा प्रतिबिम्बित नगरेको निष्कर्षमा सञ्चालक समितिले पुगेको जनाएको छ। कम्पनीले प्रस्तावित निष्कासन अघि बढाउनु कम्पनी र यसका सेयरधनीको हितमा नहुने ठहर गरेको छ।
फर्मसले अब निजी बजारबाट पुँजी जुटाउने र सार्वजनिक तथा निजी बजारमा उपलब्ध अन्य विकल्पबारे विचार गर्ने जनाएको छ।
कम्पनीले आईपीओमार्फत पाँच अर्ब अमेरिकी डलर जुटाउने योजना बनाएको बताइएको थियो। प्रतिकित्ता ११ अस्ट्रेलियाली डलरका दरले सेयर निष्कासन गर्ने तयारी गरिएको थियो। यो योजना कार्यान्वयन भएको भए अस्ट्रेलियाको इतिहासमा दोस्रो ठूलो नयाँ सेयर निष्कासन हुने थियो। उक्त आईपीओमा कम्पनीको मूल्याङ्कन करिब ३० अर्ब ६० करोड अमेरिकी डलर गरिएको थियो।
गत अगस्टमा फर्मसले एनभिडिया, कोट्यु म्यानेजमेन्ट, ब्ल्याकस्टोन र जेन स्ट्रिटको समर्थनमा दुई अर्ब अमेरिकी डलरको लगानी जुटाएको घोषणा गरेको थियो। यससँगै अघिल्लो एक वर्षमा कम्पनीले जुटाएको कुल इक्विटी पुँजी तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो भने कम्पनीको मूल्याङ्कन १० अर्ब ५० करोड अमेरिकी डलरभन्दा माथि पुगेको थियो।
गत महिना फर्मसले मेटासँग पनि सम्झौता गरेको घोषणा गरेको थियो। उक्त सम्झौताअनुसार दक्षिणपूर्वी एसियामा रहेका आफ्ना एआई डेटा सेन्टरमार्फत मेटालाई जीपीयूमा आधारित कम्प्युटिङ क्षमता उपलब्ध गराइनेछ। एनभिडियाको डीएसएक्स प्लेटफर्ममा आधारित ती डेटा सेन्टरले मेटाको एआई अनुसन्धान, मोडेल विकास तथा प्रशिक्षणसम्बन्धी कार्यलाई सहयोग गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।