काठमाण्डौ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा तथा सुदृढीकरणका लागि आफू पुनः सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्।
शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले करिब ११ वर्षपछि पार्टी जीवनमा फर्किएको उल्लेख गरेकी हुन्।
एमाले सचिव पद्मा अर्यालले बैठकपछि दिएको जानकारीअनुसार भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानमाथि चुनौती देखिएको उल्लेख गर्दै त्यसको रक्षा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दलहरूले नै गर्नुपर्ने धारणा राखेकी थिइन्।
भण्डारीले लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफू पनि सहभागी भएको स्मरण गर्दै पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन योगदान दिन सकिने विश्वास व्यक्त गरेकी थिइन्।
उनले आफू लामो समयपछि पार्टी राजनीतिमा फर्किनुको उद्देश्य व्यक्तिगत भूमिकाभन्दा पनि राजनीतिक प्रणालीको सुदृढीकरणसँग जोडिएको सन्देश बैठकमा दिएको अर्यालले जानकारी दिइन्।
भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको सक्रिय राजनीतिमा थिइन्। राष्ट्रपति निर्वाचित भएपछि उनले पार्टी राजनीतिको सक्रिय भूमिकाबाट अलग भएकी थिइन्। हालै एमालेले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएपछि उनी औपचारिक रूपमा पुनः पार्टी राजनीतिमा सक्रिय भएकी हुन्।
स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त पद, पोलिटब्युरो सदस्यको मनोनयन तथा स्थायी कमिटीमा रिक्त स्थान पूर्तिका विषयमा समेत छलफल भएको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।