काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व राजनीतिमा हस्तक्षेप, नियन्त्रण र सत्ता परिवर्तनका तौरतरिकामा ठूलो परिवर्तन आएको बताएका छन्।
पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले आफूलाई लोकतन्त्रको जनक र रक्षक बताउने शक्तिहरूबाटै अलोकतान्त्रिक गतिविधि भइरहेको आरोप लगाए।
उनले विश्व राजनीतिमा विभिन्न मुलुकमाथि हुने हस्तक्षेपको स्वरूप र गहिराइ फेरिएको दाबी गर्दै सरकार परिवर्तन गराउने र आफू अनुकूलका सरकार स्थापना गर्ने प्रवृत्तिबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए।
ओलीले भने, ‘हामी कम्प्रिहेन्सिभ डेमोक्रेसी भनिरहेका छौँ। यहाँ त डेमोक्रेसी नै कता पुगिसक्यो, केको कम्प्रिहेन्सिभ डेमोक्रेसी ?’
उनले लोकतान्त्रिक प्रक्रिया बाहिरबाट लोकप्रिय व्यक्तिलाई छोटो समयमै अलोकप्रिय बनाउने वा कसैलाई अचानक ‘हिरो’ बनाउने प्रवृत्ति बढेको दाबी गरे।
यस क्रममा ओलीले रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडेर सार्वजनिक भएको भनिएको अडियो प्रकरणको प्रसंगसमेत उठाएका थिए। यस्ता घटनालाई आधार बनाएर सार्वजनिक धारणा तीव्र रूपमा निर्माण वा परिवर्तन हुने प्रवृत्तिलाई उनले खतरनाक भने।
ओलीका अनुसार यस्तो प्रवृत्ति नेपालमा मात्रै नभई अन्य मुलुकमा पनि देखिएको छ। विश्व व्यवस्था कमजोर हुँदा त्यसको असर नेपालजस्ता साना तथा विकासशील मुलुकमा अझ बढी पर्ने उनको भनाइ थियो।
उनले बदलिँदो विश्व राजनीति, विदेशी हस्तक्षेपको स्वरूप र लोकतान्त्रिक प्रणालीमाथि देखिएका चुनौतीबारे नीति तथा अनुसन्धान संस्थाहरूले गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।