काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालमा वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्न अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयन ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गित चौधरीको अग्रसरतामा मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानीकर्ता तथा कन्सोर्टियमसँग प्रस्ताव मागेको हो।
मन्त्री चौधरीका अनुसार सरकारको प्रारम्भिक लक्ष्य वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्नु हो। भविष्यमा माग र आवश्यकता बढे उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ।
मन्त्रालयले प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट उपयुक्त प्रविधि, लगानी संरचना, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा सरकारले उपलब्ध गराउनुपर्ने सहुलियतबारे स्पष्ट आधार तयार हुने अपेक्षा गरेको छ।
ग्रीन युरिया उत्पादनका लागि आवश्यक प्रविधि, वित्तीय संरचना तथा सम्भावित साझेदारी मोडलबारे निजी क्षेत्रको सुझावसमेत प्रस्तावमार्फत समेटिनेछ।
इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यविधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्नेछन्।
प्रस्ताव आगामी मंसिर १३ गते साँझ ५ बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा [email protected] मा इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ।
सरकारले ग्रीन युरिया उत्पादनलाई दीर्घकालीन कृषि उत्पादन, मल आपूर्तिको स्थायित्व तथा आयात निर्भरता घटाउने रणनीतिक परियोजनाका रूपमा अघि बढाउने संकेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।