काठमाण्डौ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि नेकपा (एमाले)ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ।
पार्टीले केन्द्रीय कार्यालयको सुरक्षाका लागि पूर्वसैनिक तथा पूर्वप्रहरी सम्मिलित टोली परिचालन गरेको छ। नयाँ व्यवस्थाअनुसार उक्त टोलीले २४ घण्टा कार्यालय परिसरको सुरक्षा गर्नेछ।
एमालेले कार्यालय परिसरको निगरानीसमेत बढाएको छ। विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरी कार्यालय वरपर हुने गतिविधिमाथि निगरानी बढाइएको जनाइएको छ।
एमालेले लामो समयदेखि केन्द्रीय कार्यालयमा सरकारी सुरक्षा सुविधा पाउँदै आएको थियो। तर हालै उक्त सुरक्षा हटाइएपछि पार्टीले आफ्नै तर्फबाट वैकल्पिक सुरक्षा व्यवस्था मिलाएको हो।
पार्टी स्रोतका अनुसार पछिल्लो समय कार्यालय परिसर आसपास अपरिचित व्यक्तिको आवतजावत र अस्वाभाविक गतिविधि देखिन थालेको भन्दै सुरक्षा सतर्कता बढाइएको हो।
अब केन्द्रीय कार्यालय प्रवेश तथा परिसरभित्र हुने गतिविधिमा थप निगरानी राखिनेछ भने पूर्वसैनिक र पूर्वप्रहरीको टोलीले नियमित रूपमा सुरक्षा व्यवस्थापन गर्नेछ।
सरकारी सुरक्षा फिर्ता भएपछि एमालेले आफ्नै संयन्त्रमार्फत मुख्यालयको सुरक्षा मजबुत बनाउने नीति लिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।