काठमाण्डौ । चितवन, झापा र रुपन्देहीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ५७ परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिमार्फत ती परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुम्बासी र १ भूमिहीन दलित परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई पनि लालपुर्जा वितरण गरिएको छ।
यसैगरी रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा २ भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।
लामो समयदेखि बसोबास गर्दै आए पनि आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व नपाएका यी परिवार लालपुर्जा पाएसँगै औपचारिक रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशका विभिन्न स्थानमा जग्गाधनी पुर्जा वितरणको काम अगाडि बढाइरहेको जनाएको छ।
भूमिमन्त्री प्रतिभा रावलले कानुनी अड्चन हटिसकेकाले अब भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया थप तीव्र गतिमा अघि बढ्ने बताएकी छन्।
उनले उक्त अभियान प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहको सहयोग महत्वपूर्ण हुने पनि उल्लेख गरेकी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।