काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ऐतिहासिक गल्ली, सम्पदा र मौलिक जीवनशैलीलाई अनुभव गरेर सहरप्रति अपनत्व बढाउन आग्रह गरेकी छन्।
महानगरले आयोजना गरेको ‘हेरिटेज रन’लाई सम्बोधन गर्दै उनले नागरिकलाई काठमाण्डौको संस्कृति, परम्परा र जनजीवनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। बिहानीपखका भजन–कीर्तन, परम्परागत खानपान, संगीत र मन्दिरको वातावरणले सहरलाई जीवन्त बनाएको उनको भनाइ थियो।
‘काठमाडौंका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन्,’ उनले भनिन्। पैदल यात्रा वा दौडका क्रममा यी पक्षलाई अनुभव गर्दा सहरसँग आत्मीय सम्बन्ध बढ्ने उनले उल्लेख गरिन्।
वसन्तपुरबाट सुरु भएको १० किलोमिटर लामो दौडमा बालबालिका, युवा र ज्येष्ठ नागरिक सहभागी भएका थिए। डंगोलका अनुसार ७५ वर्षका ज्येष्ठ नागरिकले समेत दूरी पूरा गरेका थिए। हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्म तीन पुस्ताको सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको उनले बताइन्।
अनलाइन दर्ता खुलेको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता बन्द गर्नुपरेको उनले जानकारी दिइन्। नागरिकको यस्तो चासोले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रेरणा मिलेको उनको भनाइ थियो।
फिल्म फेस्टिभलमा ४० चलचित्र निःशुल्क देखाइने
महानगरले हेरिटेज रनलाई आगामी कात्तिक १३ देखि १५ गते अर्थात् अक्टोबर ३० देखि नोभेम्बर १ सम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’को प्रवर्द्धनसँग पनि जोडेको छ।
महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय गरी कुल ४० चलचित्र निःशुल्क प्रदर्शन गरिने डंगोलले जानकारी दिइन्। खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताइन्।
पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष चलचित्र प्रदर्शनसहित महोत्सव उद्घाटन गरिनेछ। दोस्रो र तेस्रो दिन राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन गर्ने कार्यक्रम छ।
राष्ट्रिय सभागृहमा पुराना मौलिक नेपाली चलचित्र देखाइनेछ भने जय नेपाल हलमा अन्तर्राष्ट्रिय चलचित्रसमेत प्रदर्शन गरिनेछ। इच्छुक दर्शकले महानगरको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क अनलाइन टिकट बुक गर्न सक्ने व्यवस्था गरिएको छ।
डंगोलले नागरिक, कलाकार र चलचित्रप्रेमीलाई परिवार तथा साथीभाइसहित महोत्सवमा सहभागी भएर काठमाण्डौको कला, संस्कृति र सम्पदासँग जोडिन आग्रह गरिन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।