काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आगामी दिनमा मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशीसहित बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान छ ।
मङ्गलबार कोशी, मधेस र बागमतीमा आंशिक बादल लाग्नेछ । कोशीको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । मङ्गलबार राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।
बुधबार देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
बिहीबार भने मौसम थप बदली हुने र कोशी, मधेस, बागमती तथा गण्डकीका धेरै स्थानसहित अन्य प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ भने लुम्बिनीको तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।