काठमाण्डौ । नेपाली श्रमिकको प्रमुख रोजगारी गन्तव्यमध्ये एक मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया तत्कालका लागि ठप्प भएको छ। श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद नेपाल र मलेसियाबीच समाधान हुन नसक्दा नयाँ भिसा प्रक्रिया नै रोकिएको हो।
मलेसिया सरकारको ‘फरेन वर्कर सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले असोज १५ गतेदेखि नयाँ श्रमिकको बायोमेडिकल अर्थात् स्वास्थ्य परीक्षण दर्ता बन्द गरेपछि ‘कलिङ भिसा’ जारी हुन सकेको छैन।
एफडब्लूसीएमएस सञ्चालन गर्ने वेस्टिनेट एसडीएनले मलेसियाले छनोट गरेका २५ वटा मुख्य म्यानपावर कम्पनी सक्रिय भएपछि मात्र नयाँ बायोमेडिकल दर्ता खुल्ने सर्त राखेको बताइएको छ।
मलेसियाले गत भदौमा नेपालबाट श्रमिक लैजान २५ मुख्य रिक्रुटमेन्ट एजेन्सी र तिनअन्तर्गत २५० सहायक एजेन्सी छनोट गरेको थियो। तर नेपाल सरकारले उक्त संरचनालाई स्वीकार गरेको छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सीमित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक पठाउने व्यवस्थाप्रति आपत्ति जनाउँदै दुई देशबीच स्पष्ट सहमति नहुँदासम्म पुरानै प्रणाली कायम राख्नुपर्ने अडान लिएको छ।
विवाद समाधानका लागि नेपालले संयुक्त कार्यदलको बैठक बस्ने प्रस्तावसमेत अघि सारेको छ। मन्त्रालयले नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा बैठक बस्ने गरी मिति प्रस्ताव गरेको छ। सोही बैठकमार्फत म्यानपावर छनोटसम्बन्धी विवाद र श्रम समझदारीपत्र नवीकरणको विषय टुंग्याउने प्रयास हुने अपेक्षा गरिएको छ।
मलेसियाली पक्ष भने हालको संरचनाबाट तत्काल पछि हट्ने संकेतमा छैन। मलेसियाका श्रममन्त्री रमानन रामकृष्णानले नेपाली समकक्षी रामजी यादवलाई पठाएको पत्रमा २५ मुख्य र तिनअन्तर्गत १०–१० सहायक म्यानपावर रहने व्यवस्थामै मलेसिया दृढ रहेको जनाएका छन्।
विवाद कूटनीतिक तहबाट समाधान गर्ने प्रयास भइरहेका बेला वैदेशिक रोजगार विभागले भने मलेसियाले छनोट गरेका २५ म्यानपावर कम्पनीका सञ्चालकमाथि कानुनी तथा नियामकीय प्रक्रिया अघि बढाएको छ। विभागले तोकिएको अवधिभित्र सम्पर्कमा नआए बैंक खाता तथा यात्रा अनुमति रोक्का गर्नेसम्मको चेतावनी दिएको बताइएको छ।
मलेसियाको रोजगारी रोकिनु नेपालका लागि थप संवेदनशील विषय बनेको छ। मध्यपूर्वमा बढेको तनावका कारण खाडी मुलुकमा नयाँ नेपाली श्रमिकको भर्ना उल्लेख्य रूपमा घटिरहेका बेला मलेसियालाई प्रमुख वैकल्पिक गन्तव्यका रूपमा हेरिएको थियो।
गत आर्थिक वर्षमा मात्रै करिब १ लाख ३२ हजार नेपाली रोजगारीका लागि मलेसिया पुगेका थिए। हाल मलेसियामा करिब ४ लाख नेपाली कार्यरत रहेको बताइन्छ।
नेपाल भित्रिने कुल रेमिट्यान्समा पनि मलेसियाको हिस्सा महत्वपूर्ण छ। यस्तो अवस्थामा म्यानपावर छनोट विवाद लामो समयसम्म नसल्टिए वैदेशिक रोजगारीसँगै रेमिट्यान्स प्रवाहमा समेत असर पर्न सक्ने जोखिम देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।