बुधबार, मंसिर ९,२०८३ 05:09:55
  • बुधबार, मंसिर ९,२०८३ 05:09:55
Global IME Bank Limited

देशकै जेठो विराटनगर जुट मिल ब्युँताउने तयारी, ५ हजारलाई रोजगारी दिने लक्ष्यसहित लगानीकर्ता खोज्दै सरकार !

Bizshala
देशकै जेठो विराटनगर जुट मिल ब्युँताउने तयारी, ५ हजारलाई रोजगारी दिने लक्ष्यसहित लगानीकर्ता खोज्दै सरकार !
New Office

काठमाण्डौ । लामो समयदेखि बन्द रहेको नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा जुट मिललाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सञ्चालन गर्न रणनीतिक लगानीकर्ताबाट आशयपत्र (ईओआई) माग गरिएको हो।

उद्योगमन्त्री इन्जिनियर दीपककुमार साहले मन्त्रालयको नेतृत्व सम्हालेको तीन महिनाभित्रै ऐतिहासिक उद्योग पुनः सञ्चालनका लागि प्रक्रिया अघि बढाएका हुन्।

विराटनगर जुट मिल लिमिटेडले मंसिर ९ गते सार्वजनिक गरेको सूचनाअनुसार उद्योगको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्ताले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्नेछ।

CG Motors
Garima Development Bank
IME remit

५ हजार रोजगारी र दैनिक १२५ टन उत्पादनको लक्ष्य

सरकारको योजनाअनुसार जुट मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा ५ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध हुने प्रक्षेपण गरिएको छ।

लगानीकर्तालाई आकर्षित गर्न विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारीमा उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

त्यस्तै, मिलका पुराना वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्व नयाँ लगानीकर्तामाथि नपर्ने व्यवस्था मिलाइने जनाइएको छ। सरकारको सहयोगमा मिल व्यवस्थापनले नै विगतका दायित्व व्यवस्थापन गर्ने प्रस्ताव छ।

लगानीकर्तालाई औद्योगिक व्यवसाय ऐन २०७६ तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजाने सुविधा तथा सुरुवाती वर्षमा लिज भाडामा सहुलियत उपलब्ध गराउने योजना छ।

सन् १९३६ अर्थात् विसं १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालको औद्योगिक इतिहाससँग जोडिएको महत्त्वपूर्ण उद्योग हो। राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी तथा आर्थिक समस्याका कारण यो उद्योग पटक–पटक बन्द हुँदै आएको छ।

मन्त्रालयका अनुसार आशयपत्र पेस गर्ने म्याद सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना छ।

यद्यपि, आशयपत्र आह्वान हुनु उद्योग सञ्चालनको प्रारम्भिक चरण मात्रै हो। लगानीकर्ता छनोट, वित्तीय व्यवस्थापन, पुराना दायित्वको समाधान र उद्योग आधुनिकीकरणपछि मात्रै मिल सञ्चालनको वास्तविक अवस्था स्पष्ट हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.