काठमाण्डौ । मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले झन्डै ९ अर्ब रुपैयाँ सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार समीक्षा वर्षमा मधेसमा ८ अर्ब ९९ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको हो।
प्रदेशका आठ जिल्लामध्ये धनुषामा सबैभन्दा बढी १ अर्ब २ करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत कर्जा प्रवाह भएको छ। सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा गएको छ।
मधेसको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको भूमिका अझै बलियो देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ।
यस अवधिमा प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९३४ अमेरिकी डलर रहने अनुमान छ। सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने देखिएको छ।
कृषि उत्पादनतर्फ फलफूल खेतीले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीको क्षेत्रफल ४.४६ प्रतिशतले बढेको छ। तर खाद्य तथा अन्य बालीको क्षेत्रफल ४.४७ प्रतिशत र तरकारी तथा बागवानी क्षेत्र १०.१५ प्रतिशतले घटेको छ।
उत्पादनमा तरकारी तथा बागवानी ०.५४ प्रतिशत र फलफूल ४.९९ प्रतिशतले बढेका छन्। खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत र मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको छ।
पशुजन्य उत्पादनतर्फ मासु १०.१९ प्रतिशत र अन्डा ३.११ प्रतिशतले बढेको छ। माछा उत्पादन पनि ५.०५ प्रतिशतले बढेको छ भने दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ।
वनजन्य उत्पादनमा उल्लेख्य वृद्धि देखिएको छ। काठ उत्पादन ६०.५८ प्रतिशत र दाउरा उत्पादन ७८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
२०८३ असार मसान्तसम्म कृषि, माछापालन तथा वन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट ५९ अर्ब ८६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो प्रदेशमा प्रवाह भएको कुल कर्जाको १२.१० प्रतिशत हो।
औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २८ अर्ब ९ करोड रुपैयाँ थियो।
अध्ययनमा समेटिएका प्रमुख उद्योगको औसत क्षमता उपयोग ६४.५९ प्रतिशत रहेको छ।
घरजग्गा कारोबारतर्फ गत आर्थिक वर्ष मधेसमा १ लाख १६ हजार २०७ वटा रजिस्ट्रेसन भएका छन्। त्यसबाट ३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
बैंकिङ क्षेत्रतर्फ २०८३ असार मसान्तसम्म निक्षेप संकलन १७.३२ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर ४ खर्ब ९४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ।
पूर्वाधारतर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम प्रदेशसँग सम्बन्धित प्रमुख आयोजना हुन्। तीमध्ये हुलाकी राजमार्गको निर्माण गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक रोजगारीतर्फ मधेसबाट ठूलो संख्या बाहिरिएको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका १ लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
यो देशभरबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने कुल संख्याको २२.६० प्रतिशत हो।
राष्ट्र बैंकको अध्ययनले मधेसको अर्थतन्त्र अझै कृषि र श्रम आप्रवासनमा ठूलो मात्रामा निर्भर रहेको तथा बैंकिङ, उद्योग र पूर्वाधार क्षेत्रमा मिश्रित तस्वीर देखिएको संकेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।