काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत कम हो। अघिल्लो वर्ष पहिलो त्रैमासमा बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको नाफामा दबाब परेको देखिन्छ। यद्यपि कर्जा तथा अन्य नोक्सानीबापतको व्यवस्थामा हुने खर्च घट्नु र शुल्क तथा कमिसन आम्दानी बढ्नुले नाफाको गिरावट सीमित राख्न सहयोग गरेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत घटेर ९२ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९९ करोड ८५ लाख रुपैयाँ थियो। ब्याज खर्च घटे पनि ब्याज आम्दानीमा आएको गिरावटको रकम बढी हुँदा बैंकको मुख्य आम्दानीको स्रोत खुम्चिएको हो।
बैंकलाई शुल्क तथा कमिसन आम्दानीले केही राहत दिएको छ। यस्तो खुद आम्दानी ३३.३१ प्रतिशत बढेर १५ करोड २४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले यस शीर्षकमा ११ करोड ४३ लाख रुपैयाँ कमाएको थियो।
यसैगरी कर्जा तथा अन्य नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च ३३ करोड ३१ लाख रुपैयाँबाट घटेर २५ करोड ४२ लाख रुपैयाँमा आएको छ। यस्तो खर्च २३.६८ प्रतिशत अर्थात् करिब ७ करोड ८९ लाख रुपैयाँ घटेको हो। खुद ब्याज आम्दानी घटिरहेका बेला यो खर्चमा आएको कमीले नाफालाई थप खुम्चिनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। बैंकको सञ्चालन नाफा भने ४.३४ प्रतिशत घटेर ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप एक खर्ब रुपैयाँ नाघेको छ। गत असार मसान्तमा ९८ अर्ब ४७ करोड रुपैयाँ रहेको ग्राहक निक्षेप असोज मसान्तसम्म ३.११ प्रतिशत बढेर १ खर्ब १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.७३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात अहिले ४.८१ प्रतिशत पुगेको छ। गत असार मसान्तमा यो अनुपात ४.७७ प्रतिशत थियो।
खुद नाफा घटे पनि चालु त्रैमासबाट सिर्जित वितरणयोग्य नाफामा सुधार आएको छ। नियामकीय समायोजनपछिको यस्तो नाफा अघिल्लो वर्षको ३ करोड ३० लाख रुपैयाँबाट बढेर ८ करोड ९ लाख रुपैयाँ पुगेको छ। यो करिब १४५ प्रतिशतको वृद्धि हो।
तर चालु त्रैमासको वितरणयोग्य नाफा र असोज मसान्तमा बाँकी रहेको कुल वितरणयोग्य नाफा फरक हुन्। सुरुवाती सञ्चित नाफा तथा बोनस सेयर र नगद लाभांश वितरणको समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ८ करोड ३२ लाख रुपैयाँ कायम भएको छ। विवरणमा बोनस सेयर र नगद लाभांशबापत छुट्टाछुट्टै ६० करोड २१ लाख रुपैयाँ समायोजन गरिएको छ। बैंकले वार्षिकीकृत प्रतिसेयर वितरणयोग्य नाफा ५.०३ रुपैयाँ उल्लेख गरेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने अघिल्लो वर्षको १७.६४ रुपैयाँबाट घटेर १४.५० रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ १५५.६८ रुपैयाँ रहेको बैंकको चुक्तापुँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ छ। पुँजी पर्याप्तता अनुपात १३.५७ प्रतिशतबाट घटेर १२.८४ प्रतिशत कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।