काठमाण्डौ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै वार्षिक राजस्व लक्ष्य नाघेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको भन्सार कार्यालयले कात्तिक १३ गतेसम्म ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको हो। लक्ष्यभन्दा २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व संकलन भइसकेको छ।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म कोरलानाका हुँदै २६ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन्। सोही अवधिमा नेपालबाट चीनतर्फ २८ करोड ६३ लाख रुपैयाँबराबरका वस्तु निर्यात भएका छन्।
यस अवधिमा चीनबाट आयात गरिएका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ। गत आर्थिक वर्षभर मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
दसैँअघि असोज २७ गतेसम्म कार्यालयले ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको थियो। त्यसपछि करिब १५ दिनमै थप ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
दसैँअघि कोरलानाका हुँदै १० अर्ब ४० करोड ६९ लाख रुपैयाँबराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका थिए। दसैँपछि थप ६ अर्ब ७० करोड ५४ लाख रुपैयाँबराबरका वस्तु आयात भएको कार्यालयले जनाएको छ।
ईभी आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ। साउनदेखि असोज २७ गतेसम्म ३ हजार ९२६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। त्यसपछिका १५ दिनमा मात्रै थप २ हजार ५७५ वटा ईभीको जाँचपास भएको छ।
रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार तीव्र रूपमा बढेको भन्सार कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि मार्ग परिवर्तन भएका सयौँ कन्टेनरसमेत कोरलानाका हुँदै नेपाल भित्रिएका छन्।
कोरलानाकाबाट तयारी पोसाक, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल तथा विद्युतीय सवारीसाधनलगायत वस्तु आयात भइरहेका छन्।
गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण सञ्चालनमा आएको कोरलानाका पछिल्लो समय चीनतर्फको महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित हुँदै गएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।