काठमाण्डौ । वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज छरितो र डिजिटल बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ।
नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने उद्देश्यसहित दुई निकायबीच भएको सम्झौतापछि वायुयान तथा पार्टपुर्जा आयात–निर्यातका लागि आवश्यक सिफारिस र अनुमति अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने बाटो खुलेको हो।
यसअघि व्यवसायी तथा सेवाग्राहीले आवश्यक सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले यस्तो प्रशासनिक झन्झट र ढिलाइ घटाउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीबाट आवश्यक वेब सर्भिस उपलब्ध गराई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग सूचना आदानप्रदान र प्रणाली एकीकरण गर्नेछ।
यससँगै सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन प्रयोगकर्ता व्यवस्थापन तथ्यांक सुरक्षा र प्रणालीको स्थायित्व सुनिश्चित गर्न आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइनेछ।
भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणालीमार्फत प्राप्त हुने प्राधिकरणका सिफारिस तथा अनुमति विवरणका आधारमा आयात–निर्यातसम्बन्धी भन्सार प्रक्रिया अघि बढाउनेछ।
दुवै निकायले प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक समन्वय र सूचना आदानप्रदानलाई निरन्तरता दिने जनाएका छन्।
यो व्यवस्थाले विशेषगरी वायुयान र पार्टपुर्जाको आयात–निर्यातमा हुने प्रशासनिक ढिलाइ घटाउनुका साथै सरकारी सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सरकारी निकायबीच डिजिटल प्रणालीमार्फत समन्वय विस्तार हुँदै जाँदा नेपालको हवाई यातायात क्षेत्रसँग सम्बन्धित व्यापार र सेवा प्रवाह थप सहज हुने विश्वास गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।