काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि सुस्ताएको रसुवास्थित गोसाइँकुण्डको पर्यटन गतिविधि पुनः चलायमान हुन थालेको छ । आवागमन सहज बन्दै गएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार पर्यटकको सङ्ख्या बढ्न थालेपछि होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा साना व्यवसायीलाई राहत पुगेको छ । गाउँपालिकाले पदमार्ग मर्मतसम्भार र पर्यटकको सुरक्षाका लागि आवश्यक समन्वय गरिरहेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पनि बाढीपछि अवरुद्ध आवागमन सहज भएसँगै गोसाइँकुण्डमा पर्यटकको आगमन नियमित हुन थालेको बताए ।
स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय आन्तरिक पर्यटक र युवापुस्ताको आकर्षण बढेको छ । पहिले जनैपूर्णिमा र गङ्गादशहरामा मात्रै बढी तीर्थयात्री आउने गरेकामा अहिले वर्षभरिजसो पदयात्रा तथा घुमफिरका लागि पर्यटक पुग्न थालेका छन् ।
समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य हो । करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने गोसाइँकुण्डमा गङ्गादशहरा र जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गर्छ । यस क्षेत्र आसपास भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायतका कुण्ड पनि रहेका छन् ।
प्राकृतिक तथा जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र सन् २००७ सेप्टेम्बर २३ मा रामसार सूचीमा सूचीकृत भएको थियो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृगलगायत वन्यजन्तु तथा विभिन्न हिमाली वनस्पति पाइन्छन् ।
स्थानीय व्यवसायीले पदमार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकास गर्न सके गोसाइँकुण्डको पर्यटनले स्थानीय जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने बताएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।