काठमाण्डौ । गोरखाको मनास्लु संरक्षण क्षेत्रमा आएको भीषण बाढीका कारण एक सयभन्दा बढी विदेशी पर्यटक बीच बाटोमै रोकिएका छन्। बाढीले पदमार्ग तथा काठेपुलमा क्षति पुर्याएपछि उनीहरूको आवागमन अवरुद्ध भएको हो।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार शनिबार १८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए। रातिसम्म उनीहरू सुरक्षित रहेको जानकारी आए पनि बाढीपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू गन्तव्यतर्फ अघि बढ्न सकेका छैनन्।
आयोजनाका अनुसार अहिले हेलिकोप्टरमार्फत पर्यटकको उद्धार सुरु गरिएको छ। चुमनुब्री–६ लोक्पामा मात्रै १७ जना पर्यटक उद्धारको पर्खाइमा छन् भने मनास्लु क्षेत्रका विभिन्न स्थानमा करिब ४० जना पर्यटक उद्धारको प्रतीक्षामा रहेको जनाइएको छ।
भोटेखोशी नदीमा आएको बाढीले लार्के पास क्षेत्रको ट्रेकिङ रुटमा ठूलो क्षति पुर्याएको छ। ठाउँठाउँमा पदमार्ग बगेको र काठेपुलसमेत क्षतिग्रस्त हुँदा आवतजावत पूर्णरूपमा प्रभावित भएको हो।
ट्रेकिङमा निस्किएका एक सयभन्दा बढी विदेशी पर्यटक बुढीगण्डकी नदीमा आएको बाढीका कारण बीच बाटोमै रोकिएको मनास्लु संरक्षण क्षेत्र कार्यालयले जनाएको छ। बाढीले मनास्लु जाने मुख्य पदमार्ग तथा झोलुंगे पुलमा क्षति पुर्याएपछि पर्यटकको आवतजावत रोकिएको हो।
मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा मात्रै एक सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन्। बाढीका कारण पदमार्गको अवस्था जोखिमपूर्ण बनेपछि तत्काल पैदल यात्रा नगर्न र सुरक्षित स्थानमै बस्न सम्बन्धित निकायले आग्रह गरेको छ।
उद्धार कार्यसँगै क्षतिग्रस्त पदमार्ग र पुलको अवस्था मूल्यांकन भइरहेको छ। बाटो सुरक्षित नभएसम्म मनास्लु क्षेत्रतर्फ जाने पर्यटकको यात्रामा थप असर पर्न सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।