काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको प्रशंसा गर्दै सामाजिक सञ्जालमा विशेष सन्देश सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफूसहित अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालको संयुक्त तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश उभो लगाउने टोली’ को संज्ञा दिएका हुन्।
उनले तस्बिरसँगै लेखेका छन्, ‘देश उभो लगाउने टोली । निकै मिहिनेती मान्छेहरू।’
प्रधानमन्त्री शाहले सार्वजनिक गरेको तस्बिर सोमबार दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा विमानभित्र खिचिएको बताइएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल विभिन्न उच्चस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा सहभागी भएका थिए।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र आपसी हितका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले भ्रमणमा सँगै रहेका दुई मन्त्रीको प्रशंसा गर्दै सार्वजनिक गरेको सन्देशलाई सरकारको नेतृत्व तहमा आपसी सहकार्य र सामूहिक प्रयासप्रति जोड दिएको अभिव्यक्तिका रूपमा लिन सकिन्छ।
यद्यपि, प्रधानमन्त्रीले आफ्नो पोस्टमा भारत भ्रमणका उपलब्धि वा आगामी कार्ययोजनाबारे थप विवरण उल्लेख गरेका छैनन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।