काठमाण्डौ । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका नेपाली श्रमिकहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो बढेपछि सरकारले सम्बन्धित म्यानपावर कम्पनीहरूमाथि छानबिन सुरु गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले रोमानियामा कार्यरत नेपाली श्रमिकका समस्या समाधान तथा उनीहरूको हकहित संरक्षणका लागि कूटनीतिक र प्रशासनिक पहल अघि बढाएको हो।
मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रमिकका गुनासो सम्बोधन गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
यसक्रममा वैदेशिक रोजगार विभागले रोमानियामा समस्यामा परेका नेपाली श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूले भोगिरहेका कठिनाइ र गुनासोबारे विवरण संकलन गरिरहेको छ।
श्रमिकहरूले ह्वाट्सएपलगायत विभिन्न सञ्चार माध्यमबाट उपलब्ध गराएका सूचना तथा गुनासोका आधारमा समस्या पहिचान गरी समाधानका लागि आवश्यक कदम चालिएको मन्त्रालयले जनाएको छ।
यसैबीच, विभागले रोमानियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा संलग्न इजाजतपत्रप्राप्त म्यानपावर कम्पनीसहितका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको गतिविधिमाथि अनुगमन र छानबिन सुरु गरेको छ।
विशेषगरी श्रमिक छनोट तथा भर्ना प्रक्रिया, रोजगारदातासँग भएका सम्झौता, सेवा शुल्क र श्रमिकलाई उपलब्ध गराइएका रोजगारीसम्बन्धी सूचनाको सत्यताबारे अध्ययन भइरहेको छ।
श्रमिकबाट प्राप्त गुनासो तथा प्रारम्भिक तथ्यका आधारमा सम्बन्धित म्यानपावर कम्पनीहरूको भूमिकासमेत परीक्षण भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
अनुगमनका क्रममा गैरकानुनी रूपमा सेवा शुल्क असुलिएको, रोजगारीबारे भ्रामक जानकारी दिइएको, श्रमिकमाथि अनुचित दबाब सिर्जना गरिएको वा सम्झौताविपरीतका गतिविधि भएको पुष्टि भएमा सम्बन्धित संस्था तथा व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
प्रारम्भिक अनुगमनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक परे थप विस्तृत अनुसन्धान अघि बढाइनेछ।
पछिल्लो समय रोमानिया नेपाली श्रमिकका लागि आकर्षक वैदेशिक रोजगार गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ। तर, श्रमिकको संख्या बढेसँगै उनीहरूको रोजगारीको सुरक्षा, सेवा सुविधा, भर्ना प्रक्रियाको पारदर्शिता र अधिकार संरक्षणका विषयमा प्रभावकारी नियमनको आवश्यकता पनि बढेको छ।
मन्त्रालयले तत्काल देखिएका समस्या समाधान गर्ने मात्र नभई भविष्यमा यस्ता समस्या दोहोरिन नदिन वैदेशिक रोजगार प्रक्रियाको नियमन र अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।
यसका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग तथा अन्य सरोकारवाला निकायबीच समन्वयलाई थप प्रभावकारी बनाइने मन्त्रालयको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।