बुधबार, मंसिर ९,२०८३ 03:54:38
  • बुधबार, मंसिर ९,२०८३ 03:54:38
Global IME Bank Limited

जलवायु परिवर्तनको जोखिममा कञ्चनजंघा क्षेत्र, हिमाल संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन फोटो प्रदर्शनी

Bizshala
जलवायु परिवर्तनको जोखिममा कञ्चनजंघा क्षेत्र, हिमाल संरक्षणमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन फोटो प्रदर्शनी
New Office

 

काठमाण्डौ । जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली र हिमालमा आश्रित समुदायमाथि बढ्दै गएको जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले काठमाण्डौमा कञ्चनजंघा क्षेत्रसम्बन्धी विशेष फोटो प्रदर्शनी सुरु भएको छ।

समृद्ध पहाड र युनेस्को काठमाण्डौको संयुक्त आयोजनामा ‘Kangchenjunga Through the Lens’ शीर्षकको फोटो प्रदर्शनी मंगलबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको हो।

प्रदर्शनीले कञ्चनजंघा क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक महत्व, सांस्कृतिक सम्पदा र स्थानीय समुदायको जीवनशैलीलाई उजागर गर्नुका साथै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याइरहेका चुनौतीबारे सचेतना फैलाउने लक्ष्य राखेको छ।

प्रदर्शनीको उद्घाटन समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, संरक्षणविद्, विकास साझेदार, फोटोग्राफर, कलाकार तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटली, बेलायती राजदूत रोब फेन, डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घना गुरुङ, युनेस्को नेपालका प्रतिनिधि जाको डु टोइट तथा केसीएएमसीका बोर्ड सदस्य छेतेन शेर्पाले सम्बोधन गरेका थिए।

वक्ताहरूले नेपालको हिमाली क्षेत्र तथा त्यहाँ बसोबास गर्ने समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता अपरिहार्य रहेको बताएका थिए।

उनीहरूले जलवायु परिवर्तनबाट हिमाली पारिस्थितिक प्रणालीमा परेको असमानुपातिक प्रभावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

विशेषगरी कोप–३१ जलवायु सम्मेलनमा नेपालले अघि सारेका हिमाली एजेन्डा तथा मागहरूप्रति समर्थन जनाउँदै वक्ताहरूले विश्वव्यापी जलवायु वार्तामा हिमाली मुलुकका आवाज र प्राथमिकताले पर्याप्त स्थान पाउनुपर्ने धारणा राखेका थिए।

‘कञ्चनजंघा नेपालको पहिचान र प्राकृतिक सम्पदाको जीवित प्रतीक’

कार्यक्रममा विशेष सन्देश पठाउँदै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कञ्चनजंघालाई एउटा भौगोलिक क्षेत्रका रूपमा मात्र नभई नेपालको राष्ट्रिय पहिचान, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको जीवित प्रतीकका रूपमा व्याख्या गरेकी छन्।

उनले कञ्चनजंघा क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्य, हिमनदी, जैविक विविधता, पवित्र तीर्थस्थल तथा विविध सांस्कृतिक सम्पदाले यस क्षेत्रलाई विशिष्ट बनाएको उल्लेख गरेकी छन्।

यस्ता प्रदर्शनीले स्थानीय कला, संस्कृति, आस्था र प्रकृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

प्रदर्शनीमार्फत कञ्चनजंघाको महत्व अझ व्यापक रूपमा उजागर हुने तथा यस क्षेत्रको संरक्षण र दिगो विकासका प्रयासलाई थप गति मिल्ने विश्वाससमेत मन्त्री चौधरीले व्यक्त गरेकी छन्।

कञ्चनजंघालाई युनेस्कोबाट अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल

प्रदर्शनीले कञ्चनजंघा संरक्षण क्षेत्रलाई युनेस्कोको ‘म्यान एन्ड द बायोस्फियर’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहललाई समेत प्राथमिकताका साथ उठाएको छ।

यस्तो मान्यता प्राप्त भएमा कञ्चनजंघा क्षेत्रमा जैविक विविधता संरक्षण, वैज्ञानिक अनुसन्धान, दिगो जीविकोपार्जन तथा समुदायको नेतृत्वमा हुने संरक्षण गतिविधिलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

यसले कञ्चनजंघा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै संरक्षण र स्थानीय विकासबीच सन्तुलन कायम गर्न नयाँ अवसर सिर्जना गर्न सक्ने आयोजकहरूको विश्वास छ।

CG Motors
Garima Development Bank
IME remit

१२७ वर्ष पुराना दुर्लभ तस्बिरदेखि आधुनिक फोटोग्राफीसम्म

प्रदर्शनीको अर्को आकर्षण ऐतिहासिक तथा समकालीन फोटोग्राफीको संयोजन हो।

सन् १८९९ मा कञ्चनजंघा क्षेत्रको आरोहण अभियानका क्रममा चर्चित इटालियन फोटोग्राफर तथा पर्वतारोही भिटोरियो सेलाले खिचेका दुर्लभ ऐतिहासिक तस्बिरहरूलाई आधुनिक फोटोग्राफरका सिर्जनासँगै प्रदर्शनमा राखिएको छ।

एक शताब्दीभन्दा लामो अवधिको दृश्य अभिलेख समेटिएको प्रदर्शनीमा कञ्चनजंघाको भव्य हिमाली भू–दृश्य, पर्वतारोहण इतिहास, जैविक विविधता, आदिवासी ज्ञान, सांस्कृतिक परम्परा तथा जलवायु परिवर्तनका प्रभावलाई विभिन्न विषयगत प्रस्तुतिमार्फत उजागर गरिएको छ।

ऐतिहासिक तस्बिर र वर्तमान अवस्थाका दृश्यहरूले हिमाली क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक महत्व बुझ्न दर्शकलाई अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

फोटोग्राफी प्रतियोगिताका तीन विजेता सम्मानित

प्रदर्शनीसँगै कञ्चनजंघा क्षेत्रको विविधता र विशेषतालाई तस्बिरमार्फत प्रस्तुत गर्ने उद्देश्यले फोटोग्राफी प्रतियोगितासमेत आयोजना गरिएको थियो।

प्रतियोगितामा सहभागी फोटोग्राफरहरूले कञ्चनजंघा क्षेत्रको प्रकृति, संस्कृति, जनजीवन तथा संरक्षणका विषयलाई आफ्ना सिर्जनामा समेटेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली फोटोग्राफर मणि लामा र लक्ष्मीप्रसाद न्हाकुसी रहेका थिए।

प्रतियोगितामा गिरीराज बन्सकोटा प्रथम, फिलिप लिलिएन्थल द्वितीय र रूपकराज सुनुवार तृतीय भएका छन्। तीनै विजेतालाई उद्घाटन समारोहमा सम्मान गरिएको थियो।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य उत्कृष्ट फोटोग्राफीलाई पुरस्कृत गर्नुका साथै दृश्य कथामार्फत प्राकृतिक सम्पदा संरक्षण, सांस्कृतिक अभिलेखीकरण र जनचेतना अभिवृद्धिलाई प्रोत्साहन गर्नु हो।

 

जलवायु न्यायका लागि विश्व समुदायलाई सन्देश

जलवायु परिवर्तनले हिमाली क्षेत्रको भविष्यलाई थप अनिश्चित बनाइरहेको अवस्थामा आयोजित प्रदर्शनीले नेपालको हिमाली एजेन्डालाई अन्तर्राष्ट्रिय जलवायु न्याय, संरक्षण तथा दिगो विकासको बहससँग जोड्ने प्रयास गरेको छ।

प्रदर्शनीले हिमाललाई पर्यटकीय आकर्षणका रूपमा मात्र नभई जैविक विविधता, स्थानीय संस्कृति, जलस्रोत र समुदायको जीवनसँग अभिन्न रूपमा जोडिएको महत्वपूर्ण प्राकृतिक प्रणालीका रूपमा प्रस्तुत गरेको छ।

आयोजकहरूले कञ्चनजंघाजस्ता हिमाली क्षेत्रको संरक्षण नेपाल एक्लैको जिम्मेवारी नभई अन्तर्राष्ट्रिय समुदायको साझा दायित्वसमेत भएको सन्देश दिएका छन्।

मंगलबारदेखि सुरु भएको प्रदर्शनी आगामी नोभेम्बर ३० अर्थात् मंसिर १४ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सर्वसाधारणका लागि खुला रहनेछ।

आयोजकले कञ्चनजंघाको इतिहास, स्थानीय समुदाय, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाबारे जान्न तथा यसको संरक्षणको आवश्यकताबारे सचेत हुन सर्वसाधारणलाई प्रदर्शनी अवलोकनका लागि आमन्त्रण गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.