काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउने खालको बजेट आएको प्रतिक्रिया दिएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेपछि संसद भवनबाहिर सञ्चारकर्मीसँगै कुरा गर्दै उनले सरकारले आफूहरुले दिएको सुझावअनुसारकै आर्थिक सुधारको वर्ष घोषणा गरेको भन्दै खुशी व्यक्त गरे ।
'हामीले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम घोषणा गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थियौं । त्यसलाई सरकारले समेटेको छ ।' अध्यक्ष ढकालले भने-'हामीले कृषि, पर्यटन, जलविद्युत, आइटी, नवप्रवर्तन लगायतलाई प्राथमिकता दिइनुपर्ने विषय पनि उठाएका थियौं, त्यो पनि सम्बोधन भएको छ ।'
सरकारका हरेक कार्यक्रम र अभियानमा निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्ने अर्थमन्त्रीको प्रतिबद्धतालाई समेत उनले सकारात्मक भनेका छन् । 'यसले निजी क्षेत्रको मनोबल बढ्नेछ ।' उनले थपे-'बजेटमा भएको घोषणाको कार्यान्वयन पक्षलाई सवल बनाउन सके सरकारबाट घोषित ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न सकिन्छ ।'