काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ४५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।