काठमाण्डौ । मास्टरकार्डले सन् २०३० सम्ममा युरोपेली नेटवर्कमा जारी गरेका सबै कार्डलाई टोकनाइज गर्ने घोषणा गरेको छ । यससँगै अहिले कारोबारका लागि प्रयोग हुँदै आएको १६ अंकको कार्ड नम्बरलाई टोकनले विस्थापित गर्नेछ ।
कम्पनीले सन् २०३० सम्ममा ई–कमर्स इन्ट्रीका लागि म्यानुअल कार्डलाई विस्थापित गर्न बैंक,फिनटेक,मर्चेन्ट र अन्य साझेदारहरुसँग सहकार्य गरिरहेको जनाएको छ । नयाँ व्यवस्थामा सबै अनलाइन प्लेटफर्ममा ‘वान क्लिक बटन’ प्रदान गरिनेछ ।
‘यसले उपभोक्ता कार्डलाई धोकाधडीविरुद्ध सुरक्षा प्रदान गर्नेछ,’ मास्टर कार्डले उल्लेख गरेको छ ।
नयाँ व्यवस्थामा प्रयोगकर्ताहरुले भुक्तानी गर्दाखेरी प्रत्येकपटक पासवर्ड हान्नु पर्ने बाध्यताबाट उन्मुक्ति पाउने छन् । मास्टर कार्डले पासवर्डलाई विस्थापित गर्नका लागि ‘पासकिज्’को व्यवस्था गर्न लागेकाले प्रयोगकर्ताले भुक्तानी गर्दाखेरी प्रत्येकपटक पासवर्ड राख्नु पर्ने छैन ।
यसका साथै यसले चेकआउटका बेला बायोमेट्रिक औथेन्टीकेसन अन्तर्गत थम्पप्रिन्टको प्रयोगबाट ग्राहकले एक क्लिकको सहायताले भुक्तानी गर्न सक्नेछन् । टोकनाइज्डको माध्यमबाट मर्चेन्टको पेज वा विद्युतीय वालेट जहासुकै स्टोर भएता पनि यस्ता कार्ड रिप्लेस वा रिन्यू गर्दा स्वतःअपडेट गर्न सकिनेछन् ।
मास्टर कार्डले ई–कमर्शमा हुने शतप्रतिशत टोकनाइजेशनले धोकाधडीको दरमा नाटकीय कमी आउने दाबी गरेको छ ।
मार्केट रिचर्स कम्पनी जुनिपर रिसर्चका अनुसार सन् २०२८ सम्म अनलाइन पेमेन्ट फ्रडबाट हुने घाटा ९१ बिलियन डलरभन्दा बढी हुनेछ । विश्वभर भने ५ वर्षको अवधिमा यो रकम ३६२ बिलियन डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
मास्टर कार्डले प्रत्येक वर्ष ५० प्रतिशतका दरले टोकनाइजेशन दर वृद्धि गरिरहेको जनाएको छ । जसले विश्वभरको मास्टर कार्डको नेटवर्कका २५ प्रतिशत ई–कमर्श कारोबारलाई सुरक्षित गरिरहेको कम्पनीले जनाएको छ ।
भुक्तानीको विगत
सन् १९५० देखि १९६० को दशकमा पहिलोपटक क्रेडिट कार्डको सुरुवात भएदेखि र सन् २००० को सुरुवाति कालमा इन्टरनेटको व्यापक विस्तार र्भदेनिख विश्वमा भुक्तानी गर्ने तौर तरिकामा व्यापक परिवर्तन आईसकेको छ ।
क्रेडिट कार्ड प्रचलनमा आएको सुरुवात दिनहरुमा बेंकका कर्मचारीले कार्ड नम्बर जाचँ गर्ने गर्थे वा भुक्तानी गर्ने मानिसको पहिचानका लागि क्रेडिट कार्ड जार्री गर्ने बैंकलाई सम्पर्क गर्ने गर्थे ।
त्यस्तै क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा चेक आउट काउन्टरमा जिप–जाप नाम गरेको मेशिनले कार्बन पेपरमा कार्ड नम्बर प्रिन्ट गर्ने गर्थ्यो । सन् १९७० देखि १९८० को दशकसम्म म्याग्नेटिक स्ट्राइप र इलेक्ट्रिोनिक टर्मिनल नआउँदासम्म यस्तै गरी क्रेडिट कार्डबाट भुक्तानी हुँने गर्थ्यो ।
पछि यसलाई कार्डधारकको जानकारी,नम्बर र एक्सपाइरी मिति भएको माइक्रो चिपयुक्त कार्डले विस्थापित गर्यो । -एजेन्सी