काठमाण्डौ । ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न भएको छ । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेल गत मंगलबारदेखि चार दिनसम्म चलेको थियो ।
जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो भएको प्रतियोगिताका संयोजक मिलन बम ठकुरीले जानकारी दिए ।
खेलमा ‘बेस्ट किपर’ अवार्ड भने सनसाइन स्कुलका सुशन खत्रीले पाएका छन् । त्यस्तै, ‘बेस्ट प्लेयर’ अवार्ड समृद्दि स्कुलकै सौगात राना मगरले पाएका छन् ।
खेलमा देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूका विद्यार्थीहरूबाट कुल ९० वटा समूह सहभागी भएका थिए ।
कमलादीस्थित युनिग्लोबको आफ्नै फुटसल कोर्टमा आयोजना भएको यस वर्षको प्रतियोगितामा सुर्खेत, जुम्ला, बाजुरालगायत देशैभरबाट सहभागिता रहेको थियो ।
एसईई दिएर बसिरहेका विद्यार्थीहरूको सहभागिता रहेको यो प्रतियोगिता देशकै सबैभन्दा ठूलो माध्यमिक तहस्तरीय प्रतियोगितासमेत रहेको मिलनले बताए ।
प्रतियोगिताको विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।