काठमाण्डौ । जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका चिसा टाइरिस कावेजाले एसईई उत्तीर्ण गरेका हुन् ।
कावेजाले टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयबाट एसईई दिएका थिए । उनले एसईईमा २.९५ जिपिए प्राप्त गरेका छन् ।
एभरेष्ट इन्टरनेशनल विद्यालयबाट यसपटकको एसईई परीक्षामा २३ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ९ जना छात्र र १४ छात्रा रहेको थिए । परीक्षा दिएका २३ जनाले नै एसइई परीक्षा उत्तिण गरेको विद्यालयले जनाएको छ । अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका छन् ।
उक्त विद्यालयको स्थापना सन् २०१३ मा भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसइर्ई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।