बिहीबार, श्रावण १४,२०८३ 11:08:31
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:08:31
Bizshala
Global IME Bank Limited

सेयर बजारमा लगानी बढाउँदै नेपाल लाइफ, कम्पनीको रोजाइमा बैंक तथा वित्तीय संस्था

सेयर बजारमा लगानी बढाउँदै नेपाल लाइफ, कम्पनीको रोजाइमा  बैंक तथा वित्तीय संस्था
New Office

काठमाण्डौ । जीवन बीमा क्षेत्रमा सर्वाधिक व्यवसाय भित्र्याउने नेपाल लाइफ इन्स्योरेन्सले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर अर्थात् सेयरबजारमा करिब ३ अर्ब रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल २ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ३।६४ प्रतिशतले बढी हो ।  

गत आवको सोही अवधिसम्म नेपाल लाइफले यस्तो क्षेत्रमा २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ लगानी गरेको थियो ।  

कम्पनीले आफ्ना व्यवसाय विस्तारसँगै लगानीको दायरा समेत फराकिलो बनाउँदै लगेको छ । सेयरबजार बाहेक कम्पनीले बण्ड, डिबेञ्चर, सामूहिक लगानी कोष ९म्युचुअल फण्ड० र अन्य संस्थापक सेयरहरुमा समेत लगानी गरेको छ ।  

कम्पनीका सीइओ प्रविण रमण पराजुलीले समेत कम्पनीले आगामी दिनहरुमा लगानी विविधिकरणमा जोड दिदैं लैजाने बताउँदै आएका छन् ।  

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको १५ प्रतिशत रकम र कुल लगानीको १० प्रतिशत रकम सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । यसअघि बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ५ प्रतिशतसम्म सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था थियो ।  

प्राधिकरणले बीमा कम्पनीहरुको लगानीमा सहज वातावरण सिर्जना गराई लगानीको सीमा बढाइदिएपनि अधिकांश बीमकहरुले सेयरबजारमा लगानी थप्न सकिरहेका छैनन् ।  

घट्दो सेयरबजारको अवस्थामा लगानी थपिहाल्दा झनै लगानी डुब्न सक्ने जोखिम रहेकाले तत्कालै लगानीको दायरा बढाइहाल्ने वातावरण नभएको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।  

नेपाल लाइफले भने गत आर्थिक वर्षको तुलनामा यो क्षेत्रमा सामान्य मात्रै लगानी थप गरेको देखिन्छ । कम्पनीले लगानी विविधिकरणमा जोड दिने भनेपनि सेयरबजारमा लगानी नबढाउने संकेत देखिएको छ ।  

हालसम्म कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा नेपाल लाइफको लगानी शुन्य छ । यदि कम्पनीले लगानी विविधिकरणलाई जोड दिने हो भने यो क्षेत्रमा लगानी बढाउन सक्ने सम्भावना बढी छ । प्राधिरकणका अनुसार यस्ता क्षेत्रमा बीमकले कुल लगानीको १० प्रतिशत रकम लगानी गर्न पाउनेछन् ।  

बैंक वित्तीय संस्थामा लगानी धेरै  

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा सर्वाधिक वाणिज्य बैंक तथा लघुवित्त संस्थाहरुको सेयरमा लगानी गरेको देखिन्छ । आव २०७९÷८० को वार्षिक प्रतिवेदनअनुसार कम्पनीले ४७ कम्पनीको साधारण सेयरमा लगानी गरेको देखिएको छ । जसमा ३८ वटा बैंक तथा वित्तीय संस्था छन् ।  

कम्पनीले १६ वटा वाणिज्य बैंक, १७ वटा लघुवित्त संस्था, चार विकास बैैक, एक फाइनान्स कम्पनी, ६ वटा हाइड्रो कम्पनी र तीन अन्य समूहका कम्पनी रहेका छन् ।  

गत आवमा कम्पनीले सर्वाधिक एभेष्ट बैंकको सेयरमा लगानी गरेको देखिएको छ । बैंकको साधारण सेयरमा कम्पनीले ३१ करोड ६६ लाख ८१ हजार रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा पनि कुल १५ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ भने निर्धन उत्थान लघुवित्तको सेयरमा १४ करोड रुपैयाँ लगानी गरेको देखिएको छ ।  

यसका साथै गरिमा विकास बैंकको सेयरमा १० करोड, नेपाल एसबिआई बैंकको सेयरमा ९ करोड १ लाख, स्वाबलम्बन लघुवित्तको सेयरमा ८ करोड ५७ लाख, नेपाल बैंकको सेयरमा ७ करोड ६६ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमा ७ करोड ५८ लाख, माछापुच्छ्रे बैंकको सेयरमा ६ करोड ९० लाख, छिमेक लघुवित्तको सेयरमा ६ करोड ७३ लाख रुपैयाँ र सिद्धार्थ बैंकको सेयरमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीले बैंक र अधिकांश लघुवित्तको सेयरमा करोड भन्दा बढी लगानी गरेको प्रतिवेदनमा देखिएको छ । यसर्थ कम्पनीले लगानीका लागि बढी बैंक तथा वित्तीय संस्था नै रोजेको देखिन्छ ।  

दीर्घकालिन लगानीका लागि संस्थागत लगानीकर्ताहरुले बढी बैंक तथा वित्तीय संस्थाहरु नै रोज्ने गरेका छन् । नेप्सेमा सूचीकृत अन्य समूहका कम्पनीहरुको तुलनामा बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा जोखिम कम हुने र प्रतिफल पाउने सम्भावना बढी रहने भएकाले दीर्घकालिन लगानीका लागि बैंक तथा वित्तीय संस्था नै उपयुक्त हुने कम्पनीले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.