काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाण्डौबीच अनलाईन प्रणालीमार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कार्यालयबीच असार २४ गते दुईपक्षिय हस्ताक्षर भएको हो ।
सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारीपत्र आदानप्रदान गरेका छन् । नेपाल सरकारले आफू मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गत नै अनलाईनमार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले बताए ।
यस्तै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अनलाईन प्रणालीमार्फत रोक्का/रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको धारणा व्यक्त गरे ।
सो कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन विभाग, मार्केटिङ विभागको समेत उपस्थिती रहेको थियो भने बिभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुबेदी, मालपोत तथा भुमि सुधार शाखा (जग्गा प्रशासन) का निर्देशक तथा विभागका प्रवक्ता रोशन शङ्कर घिमिरे , योजना तथा अभिलेख शाखाका निर्देशक बेद प्रसाद अर्याल, भु–सुचना प्रविधीका कम्प्युटर अधिकृत हरिशरण थापालगायतको उपस्थिती रहेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                