काठमाण्डौ । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ देखि ब्याजदर परिवर्तन गर्ने भएको छ । कोषले १ साउनदेखि सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेका हो ।
कोषले सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकमको ब्याजदर ५.५० प्रतिशत र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ । कोषले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाएर ७.५० प्रतिशत कायम गरेको छ । साथै जग्गा खरिद सापटी वा सरल सापटीका लागि ८ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशत विन्दुले छुट दिने निर्णय गरेको छ ।