काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात संगै सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने नाराका साथ घर कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकले ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको ब्याजदर ७ वर्ष सम्मस्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियमदर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी दिए । यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड,डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिदै आएको छ बैंकले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको जनाएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।