काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका दुई ठुला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन् ।
महासंघ अध्यक्ष ढकालले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विदेशी दुवै लगानी बढ्न नसकेको एउटा प्रमुख कारण रहेको बताउँदै संसदमा रहेका दुई ठुला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ताहरुमा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताए ।
‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बावजुद राजनैतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । अहिले संसदका दुई ठुला राजनैतिक दलहरु मिलेर सरकार निर्माण गरेका छन् । यसले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ । अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ,’ ढकालले भने ।
नेपाली काङ्ग्रेस र नेकपा एमालेको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनले सोमबार नै २१ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए छ ।
ढकालले तीनतीनपटक मुलुकको नेतृत्व गरिसकेका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास व्यक्त गरे ।
ढकालले प्रधानमन्त्री ओलीले पहिलो दिननै मन्त्रीपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्र लगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको उल्लेख गरे ।
‘सरकार गठन प्रकृयामा लामो समय लाग्ने र गठबन्धन दलहरुबीच भागबन्दा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा निकै समय लाग्ने गरेको हाम्रो विगत छ । तर, प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रीपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ,’ उनले भने ।
त्यस्तै, ढकालले अर्थ मन्त्रालयमा यस अघि नै अर्थमन्त्रालय सम्हालीसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको बताए ।
‘अर्थ मन्त्रीको रुपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीको रुपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रको चुनौतीहरु सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ । हामी निजी क्षेत्र उहाँसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधै तयार नै छौँ,” उनले भने ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                