काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लगातार पाचौंपटक ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदनमा (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७९/०८० को लागि मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको हो ।
यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५÷०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले Best Presented Annual Report Award 2023 विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. निजि बैंकिङ क्षेत्र २. वित्तीय सेवा क्षेत्र(अन्य सम्पूर्ण वित्तकार्य गर्ने कम्पनीहरु) ३.उत्पादन क्षेत्र ४.शक्ति र उर्जा क्षेत्र ५. सेवा क्षेत्र रहेका छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार (गोल्ड)प्राप्त गरेको छ । गत शनिबार, काठमाण्डौमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्रीश्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
साथै, बैंकले ‘नेपालमै टिक्न ,सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                