काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्रप्रसाद पौडेल नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष २०८१ श्रावण ८ गतेका दिन भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरुमा छलफल समेत गरेको छ ।
परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष उपेन्द्र पौडेलले, लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको, वित्तीय संस्थाहरुको खराबकर्जा एवम् जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय रुपमा वृद्धि भएको, पूँजीकोषमा दवाब परेको, बैंक तथा वित्तीय संस्थाकाविरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्नका लागि गरिएका दुरुत्साहनका कार्यहरु निरुत्साहित हुन नसकेको, प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानहरुले बैंकिङ लगानीकर्ताहरुमा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीहरु समेत पलायन हुने क्रम बढेकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मुलुकको अर्थतन्त्र र निजी क्षेत्रका वर्तमान अवस्था र अपेक्षाका विषयमा गहिरो ज्ञान हासिल गरेका अर्थमन्त्रीबाट समग्र आर्थिक एवम् बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवम् बैंकिङ विकासका पहलकदमीहरु अवलम्बन हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समयमा बैंकिङ क्षेत्रको वास्तविकतालाई नहेरी/नबुझी अथाह कमाएको दुष्प्रचार गर्दै मुलुकको अर्थतन्त्रको आधार स्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए । पूँजी निर्माण एवम् परिचालन, लगानी विस्तार, रोजगारी, सामाजिक रुपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्याउँदै आएको यस क्षेत्रले कमाउनै हुँदैन भन्ने निहित स्वार्थ समूहको सोच र सोही प्रकारका नीतिगत व्यवस्थाले आज बैंक तथा वित्तीय संस्थाहरुको मुनाफा ऋणात्मक भएको कारणले लाखौं लगानीकर्ताहरुको जीवन गुजारामा मात्र असर नपुगी स्वयम् सरकारको राजस्व लक्ष्यमा समेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन विशेष आग्रह गरेका थिए ।
त्यसैगरी परिसंघका कार्यकारी सदस्य लिला प्रकाश सिटौलाले कर्जा र धितोको विषयमा वस्तुगत अध्ययन नै नगरी गैरकार्यकारी भूमिकामा रहने संचालकहरुलाई कागजी जानकारीका आधारमा हिरासतमा लिने प्रवृति बढ्दै जानुले समग्र बैंकिङ क्षेत्र नै भयभित बनेको बताएका थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिबिफिन टोलीबाट प्राप्त शुभकामना र सृदृढ एवम् आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा जनाएको सहकार्यको प्रतिवद्धताप्रति धन्यवाद व्यक्त गरेका थिए ।साथै, सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवम् चुनौतीहरुको समाधान र अपेक्षाहरुको सम्बोधन लागि सरकारले आवश्यक पहलकदमी लिने जानकारी गराए । सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवम् बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवम् छविमाथि हानी हुने र बैंकिङ गतिविधि संचालनमा असर पुर्याउने कुनै पनि गतिविधिहरु सरकारलाई क्षम्य नहुने बताए । अर्थतन्त्रको आधार स्तम्भका रुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधानहरु सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                